Comments Add Comment

‘जोमसोमै बजारमा’ गीत रवीन्द्र अधिकारीले नै लेखेका हुन् ?

१९ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको निधनसँगै सामाजिक सञ्जालमा ‘जोमसोमै बजारमा…’ बोलको गीतले पनि पुनः चर्चा पायो । जोमसोमै बजारमा बोलको गीत रविन्द्र अधिकारीले रचना गरेको भनी कतिपय मिडियाले गीतकै लिरिक्स राखेर मन्त्री अधिकारीको जीवन कथासमेत प्रस्तुत गरे ।

नेपथ्य ब्याण्डले सन् १९९५ मा यो गीत बजारमा ल्याएको थियो । नेपथ्यको तेस्रो एल्बम ‘मिनपचास’मा संग्रहित ‘जोमसोमै बजारमा…’ बोलको गीत मात्र चर्चित भएन, यसले नेपथ्यलाई पनि चम्कायो ।

यो एल्बममा अर्को गीत पनि चर्चित बन्यो, ‘चरी मर्‍यो सिसैको गोलीले….।’

अहिले पनि जोमसोम पुगेपछि प्रायः नेपालीले गुन्गुनाउन थालिहाल्छन्, जोमसोमै बजारमा, १२ बजे हावा सरर, ए हजुर घर हाम्रो पोखरा… ।’

रहस्य के छ भने दिउँसो १२ बजेतिर जोमसोम बजारमा दिनुहँ केहीबेर हावा चल्ने गर्छ । जसै जोमसोम बजारमा हावा चल्छ, मानिसहरुले यो गीतलाई सम्झन्छन् ।

के यो गीत रविन्द्र अधिकारीले नै रचना गरेका थिए त ? हामीले यसबारेमा नेपथ्यलाई सोध्यौं । नेपथ्यले यो गीतका रचनाकार रविन्द्र अधिकारी नभएको अनलाइनखबरसँग बतायो ।

नेपथ्यका लिड भोकलिस्ट अमृत गुरुङलाई उद्धृध गर्दैर् नेपालयका अर्पण शर्माले अनलाइनखबरसँग भने, ‘यो गीत रक्षा गुरुङले लेख्नुभएको हो ।

रविन्द्र अधिकारी गीतमा भने सौखिन रहेको र पोखरास्थित पीएन क्याम्पस पढ्दा पनि गीत गुन्गुनाइरहने शर्माले बताए । जोमसोमै बजारमा गीतका रचनाकार रक्षा पोखराबासी नै भएको शर्माले बताए ।

शर्माका अनुसार अमृतले भनेका छन्, ‘रविन्द्र अधिकारीसँग मेरो राम्रो चीनजान थियो, मेरो प्रस्तुति पनि धेरैपटक हेर्न आउनुभएको थियो । तर, गीतचाहिँ रक्षाले लेख्नुभएको हो ।’

तर, कतिपय नेपाली मिडियाहरूले यो गीत रविन्द्र अधिकारीले लेखेको दाबी गरेका छन्, जहाँ मन्त्री अधिकारीद्वारा आफूसहित मिलेर सामुहिकरुपमा सो गीत रचना गरिएको दाबी प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment