+
+

ओलीले खान्न भन्दाभन्दै सबै खाए : विश्वकर्मा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १७ गते १७:०९

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले बालुवाटार जग्गा प्रकरणको सेटिङ नेकपा महासचिव विष्णु पौडेलले मिलाएको आरोप लगाएका छन् । त्यही सेटिङ मिलाएबापत ८ आना जग्गा बकस पाएको विश्वकर्माको आरोप छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता विश्वकर्माले भने, ‘मैले सुनेको चाहिँ उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाउनुभएको हो । आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकाले छोराको नाममा राख्नुभएको हो अरे ।’

ललिता निवासलाई मोही कायम गर्न लाखौं/करोडौं खर्चिएका भूमाफियाहरुले पौडेलको कारण आफूहरु फसेको गुनासो गरेको उनको दाबी छ ।

‘किसुनजी, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी वा शेरबहादुर देउवा जो हुन्, सबैको बारेमा गहिरो छानबिन गरियोस्’ मीन विश्वकर्मा

प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको भन्दै उनले भने, ‘दुर्वाशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजी पनि सबै खानुभयो ।’

बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पौडेलले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनले बताए । नेता विश्वकर्माले भने, ‘सरकारी जग्गा हडप्न किर्ते गर्नेहरु, गैरकानूनी ढंगले सरकारी जग्गाहरु कब्जा गर्ने सबैजना दण्ड, सजायको भागीदार हुनुपर्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाको नाम मुछिएकोतर्फ संकेत गर्दै उनले सरकारले हिजोबाट एक्कासी आफ्नो तातो खरानी प्रतिपक्षी दलतर्फ फालेको आरोप लगाए । ‘३३ केजी सुन तस्करी प्रकरणमा अनुहार हेर्दा आफ्नै मान्छे परेपछि ओलीजीले बाजेको सेकुवा बन्द गराउनुभयो । यो सरकार अपराधीकरणलाई संरक्षण गर्नेतर्फ लागेको छ’ कांग्रेस नेता विश्वकर्माले भने ।

जग्गा प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने भन्दै उनले भने, ‘किसुनजी, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी वा शेरबहादुर देउवा जो हुन्, सबैको बारेमा गहिरो छानबिन गरियोस् ।’

राष्ट्रिय जनता पार्टी (राजपा) का उपाध्यक्ष वृषेशचन्द्र लालले बालुवाटार जग्गा प्रकरणका आरोपितहरुले उन्मुक्ति पाउन नहुने बताए ।

अहिले मुलुकमा लुटतन्त्र, भ्रष्टाचार र आर्थिक गतिविधिको अराजकता रहेको भन्दै उनले भने, ‘सबै क्षेत्रमा माफियाहरु सक्रिय छन् । भूमाफियाहरुको गतिविधि त झनै बढ्दो छ । भूमाफियाहरुले सरकारी जग्गा कब्जा गरेर निजी बनाएका छन् ।’

सत्तारुढ नेकपाका नेता देवेन्द्र पौडेलले वर्तमान सरकारले एक इन्च पनि सरकारी जग्गा अपचलन नगर्ने दावी गरे । ‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस्, दोषीहरुलाई कारबाही गर्छ’ उनले भने ।

नेकपाका महासचिव विष्णु पौडेलको नाम बालुवाटार जग्गा प्रकरणमा आवश्यकता भन्दा बढी हल्ला गर्न नहुने उनले टिप्पणी गरे । ‘उहाँले ०६१ सालमा जग्गा किन्नुभएको हो । त्यतिवेला उहाँको पार्टी शक्तिशाली पनि थिएन । सरकारमा पनि थिएन’ पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?