Comments Add Comment

छायाँ अर्थमन्त्रीको टिप्पणी : सजिलो सिरानीमा बस्ने खालको बजेट आयो

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले आर्थिक वर्ष २०७६/७७ सालको बजेट यथार्थमा आधारित नभएको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको बजेट वक्तव्यमाथि टिप्पणी गर्दै उनले अर्थमन्त्रीले जोखिम नमोल्ने हिसाबले सामान्य बजेट ल्याएको टिप्पणी गरेका छन् ।।

‘यो पाला अवसर थियो । तर, सजिलो सिरानीमा बस्ने खालको बजेट आयो’ उनले भने । विप्रेषणको आम्दानीबाट उपभोगको माग सिर्जना हुने, त्यसबाट आयात बढ्ने र आयातबाट राजस्व बढ्ने र त्यसैबाट चालु खर्च चलाउने हिसाबले बजेट आएको रिजालको टिप्पणी छ ।

सरकारले पूँजीगत खर्चको लक्ष्य गत वर्ष भन्दा झण्डै दोब्बर राखेको भन्दै त्यो खर्च हुने आधार नदेखिएको उनले बताए । ‘अघिल्लो बर्ष २७० अर्ब पुँजीगत खर्च भयो । चालु बर्षको अनुमान छ २७२ अर्ब र आगामी ४१० अर्ब खर्च गर्छु भन्नुभएको छ । ५० प्रतिशतले पुजिँगत खर्च बृद्धि गर्ने कुनै आधार देखिँदैन’ उनले भने ‘त्यो आधार बजेटको प्रस्तुतिमा पनि देखिन्न । खर्च धान्न राजश्व उठाउन सकिन्न, प्रष्ट छ ।’

अर्थमन्त्रीले वैदेशिक अनुदान र वैदेशिक ऋण निकै नै बढ्ने अनुमान गरे पनि त्यो सम्भव नदेखिने रिजालले टिप्पणी गरे । ‘आन्तरिक ऋणबाट झण्डै दुई सय अर्ब उठाउने भन्नुभएको छ । दुई सय अर्ब आन्तरिक ऋण उठाउने भन्ने बित्तिकै त्यसले कर्जामा प्रेसर हुन्छ’ उनले भने ।

सरकारले आन्तरिक ऋणमार्फत तरलता खिचेपछि निजी क्षेत्रलाई कर्जा उपलब्ध नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment