Comments Add Comment

क्रिकेट रंगशालाको बारमा डोजर चलाउने पक्राउ

१६ जेठ, चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेल पक्राउ परेका छन् ।

प्रहरीले उनलाई गएराति पक्राउ गरेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले अनलाइनखबरलाई जानकारी दिए । कँडेलसँगै घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले पक्रेको छ ।

कँडेललाई नियन्त्रणमा लिए पनि सोधपुछ बाँकी रहेको प्रहरी प्रमुख मल्लले बताए । सार्वजनिक सम्पतिमा नोक्सानी पुर्‍याएको तथा धम्क्याएको अभियोगमा कँडेलविरुद्ध मुद्दा चलाउन सकिने एसपी मल्लले बताए ।

रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको समूहले बुधबार भत्काएको थियो । बार भत्काउने क्रममा उनीहरुले कर्मचारीहरुलाई समेत धम्क्याएको धुर्मस–सुन्तली फाउण्डेशनको भनाइ छ ।

यो पनि पढ्नुहोस अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा स्थानीयले लगाए डोजर

कँडेल भरतपुर महानगरपालिका–१६ का नेकपाका स्थानीय नेता हुन् । उनी ठेक्कापट्टामा समेत संलग्न छन् । गृहमन्त्री रामबहादुर थापा (बादल)निकट मानिने कँडेलमाथि प्रहरी प्रशासनलाई धम्क्याउने गरेको आरोपसमेत लाग्ने गरेको छ ।

रंगशाला निर्माण कार्य स्थगित

यसैबीच, धुर्मुस–सुन्तली फाण्डेशनले रंगशाला निर्माणको कार्य स्थगित गरेको छ । सुरक्षाको कारण देखाउँदै फाउन्डेसनले तत्कालका लागि निर्माण कार्य स्थगित गरेको त्यसका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले जनाएका छन् ।

चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको झण्डै एक किलोमिटर बार कँडेलसहितका केही स्थानीयले बुधबार भत्काइदिएका थिए । उनीहरुले रंगशाला निर्माणको लागि लगाइएको जस्ताको बार मात्रै नभई कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काएका छन् । त्यस वरपरका रुखहरू ढलाएका छन् ।

रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग उनीहरुको छ ।स्थानीयका लागि मात्रै होइन रंगशालाका लागि समेत सडक चाहिने भएकोले करीव १० मिटर जग्गा सडकका लागि छाड्ने विश्वास धुर्मसले दिलाएका थिए ।

अहिले सो क्षेत्रमा ७ मिटर फराकिलो सडक छ । स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

भूकम्पपीडित र मुसहरका लागि एकीकृत वस्ती निर्माण थालेका कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले गत माघमा चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका थिए । महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माणका लागि महानगरपालिकासँग निर्माण सम्झौता गरी प्रारम्भिक काम थालिरहेका बेला  अवरोध पुर्‍याइएकाे हाे । जसको चौतर्फी विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment