१८ जेठ, काठमाडौं । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको छ। डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो ।
३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । तर, त्यसलाई निरन्तरता दिन नसकिरहेको बेला सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले पहिलो प्रयासमै कलेजोको प्रत्यारोपण गर्न सफल भएको छ ।
विदेश जानुपर्ने बाध्यता अन्त्य
यो सफल प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपणको लागि भारत जानुपर्ने बाध्यता अन्त्य हुने डाक्टर सिंहले बताएका छन्। भारतमा ५० देखि ७० लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाखमा सम्भव हुनेछ ।
कलेजो प्रत्यारोपणको लागि डा. सिंहको टोलीले ५ वर्षदेखि तयारी गरेको थियो। ५ वर्षअघिदेखि तयारी गरेपनि प्रत्यारोपण गर्ने अनुमति भने चार महिनाअघि पाएका थिए ।
वार्षिक १० देखि १५ वटा प्रत्यारोपण गर्ने लक्ष्य लिएको डा. भण्डारी बताउँछन्। सुरुवातका केही महिना एक वटा प्रत्यारोपण गरेपनि तीन महिनापछि प्रत्यारोपणको स्पिड बढाउने उनले बताए ।
सन् २०१० मा अष्ट्रेलियाबाट फर्किएपछि डा. सिंहले जटिल प्रकारका कलेजो र प्यान्क्रियाज सर्जरी गर्न थालेका थिए । त्यही बेला नेपालमा कलेजो प्रत्यारोपणको आवश्यकता महसुस गरेलगत्तै उनी आवश्यक तालिम लिन अष्ट्रेलिया पुगे । सन् २०१५ मा अष्ट्रेलियाबाट फर्केपछि भण्डारी प्रत्यारोपणको टिम बनाउनतिर लागे ।
आवश्यक जनशक्ति, तालिम र आवश्यक सामान तयार पार्न झन्डै २ वर्ष लाग्यो । त्यसपछि ‘सेट अप’ तयार भयो। १२ करोडभन्दा बढीको लगानीमा आवश्यकता अनुसारको ‘सेट अप’ तयार भएको थियो।
तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले कलेजो प्रत्यारोपणको लागि आवश्यक सहयोग गरेका थिए । अहिले प्रत्यारोपणको लागि भारतस्थित एपोलो अस्पतालको टिमले सहयोग गरेको छ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4