
८ असार, पोखरा । कास्कीको मादी गाउँपालिका ज्याम्दुस्थित निर्माणाधीन पुल मादी नदीले बगाएको छ । ढलानको तयारी गरिएको पुल नदीको भेलले बगाएको हो ।
ठेकदार कम्पनी मृत सञ्जिवनी निर्माण सेवाले पुलको आधा भाग ढलानको तयारी गरेको थियो । तेस्रो पटक थपिएको म्याद अनुसार ठेकदार कम्पनीले पुल निर्माणको काम गत वैशाखमा नै सक्नुपर्ने थियो । तर उसको लापरबाहीले लाखौं रुपैयाँ पानीमा बगेको छ ।
मृत सञ्जीवनी निर्माण सेवासँग १५ महिनाभित्र काम सक्ने गरी २०७२ चैत १२ गते ८ करोड ६ लाख ९६ हजार रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो । तर उसले १५ महिनासम्म पुल बनाउन सुरु नै गरेन । त्यसपछि २०७५ असार १५ गतेसम्मका लागि म्याद थप भयो । दोस्रो पटकको म्यादभित्र ठेकदारले पुलको एउटामात्रै पिल्लर उठाएपछि जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालयमा उजुरी नै दिए ।
प्रशासनले पक्राउ पुर्जी जारी गरेपछि ठेकदार कम्पनी बल्ल सम्पर्कमा आएको थियो । जनप्रतिनिधिकै रोहबरमा तेस्रो पटकका लागि २०७६ वैशाखको म्याद दिइएको थियो ।
मादी गाउँपालिका अध्यक्ष वेदबहादुरले भने, ‘वैशाखकै भेलले पनि पुलको निर्माणमा बाधा पार्ने भएकाले समयमै सक्न पटक पटक ताकेता गर्यौं । तर, अटेरी ठेकदारकै कारण पुल बन्ने स्थानीयको सपना यसपटक मादीले नै बगायो ।’
ठेकदारले हेलचेक्र्याईं गर्दा ढलान हुन लागेको पुल बगेको अध्यक्ष गुरुङको भनाइ छ ।
स्थानीय वासिन्दाले लापरबाही गर्ने ठेकदारलाई कारबाही गर्न माग गरेका छन् । मादी गाउँपालिका १ का वडाअध्यक्ष उक्काजंग गुरुङ भन्छन्, ‘ठेकदारको चरम लापरवाहीको कारणले स्थानीय जनता गाउँपालिका केन्द्रमा जान, पोखरा आवतजावत गर्न समस्या भएको छ, ठेकदारलाई कडा कारबाही हुनुपर्छ ।’
यसैगरी लमजुङ र मनाङ जोड्ने म्यार्दीखोलाको बेलिब्रिज बगाउँदा आवागमन ठप्प भएको छ । सडक खुलेको दशकपछि मनाङ जोड्ने बेलिब्रिज गएको वर्षमात्रै निर्माण भएको थियो । म्यार्दी पुल बाढीले बगाएपछि मनाङदेखि लमजुङ आउँदै गरेका सवारी साधन रोकिएका छन् ।
प्रतिक्रिया 4