+
+

पशुपतिमा साउनकाे पहिलो सोमबार (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ६ गते १२:४५

६ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार हो । देशभरका शिवालयमा जल चढाउने र पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो छ ।

कल्याणकारी देवता मानिने शिवलाई दूध र जल अभिषेक गरेर भक्तिपूर्वक पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् ।

साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

व्रत बस्नुको कारणबारे डा. शास्त्री भन्छन्, ‘व्रत शब्दले मानिसको कल्याणकारी भावनालाई बुझाउँछ । कुनै उद्देश्य प्राप्तिका लागि सनातन रुपमा गरिने उपासनाको पद्धति हो । व्रतले हाम्रो जीवन, स्वास्थ्य, अध्यात्मिक उन्नति, मनको शान्तिलाई सकारात्मक प्रभाव पार्दछ ।’

हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर र चितवनको देवघाट, खोटाङको हलेसीलगायतका शिव मन्दिरमा देख्न सकिन्छ । गेरु वस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या हुन्छ । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिँडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।

सोमबारलाई शिवको बार मानिन्छ । किनभने शिवको शीरमा चन्द्रमा छन् र ग्रह नक्षत्रअनुसार चन्द्रमाको बार सोमबार हो । फेरि अर्को प्रश्न उठ्नसक्छ साउनकै सोमबारको यति धेरै महत्व किन ? किनभने सूर्य कर्कट राशीमा जान्छन् । कर्कट राशी चन्द्रमाको राशी हो । त्यसकारण साउन महिनामै पूजा गर्ने विधान बसेको डा. शास्त्री बताउँछन् ।

डा. शास्त्रीका अनुसार शिवलिंगमा जल चढाउनुको कारण ऊर्जाको समन गर्नु हो । ‘जहाँ शिवलिंग स्थापना गरिन्छ, त्यहाँ यति धेरै ऊर्जा जम्मा हुन्छ कि, त्यसलाई समन गरिएन भने पृथ्वीमा प्रलय हुन्छ, त्यही भएर पनि दूध, जल, पञ्चामृत अर्पण गर्नुपर्छ ।’

शिवलिंगमा जल चढाउनुको अर्को कारणलाई कतिपयले धार्मिक कथासँग पनि जोड्ने गर्दछन् । देवता र दानव मिलेर समुद्र मन्थन गर्दा १४ रत्नहरु निस्किए । सबैभन्दा पहिले लक्ष्मी, मणि, पारिजात, धनवन्तरी क्रमैसँग निस्किए ।

त्यसक्रममा कालकुट विषपछि अमृत निस्कियो । विषले सृष्टिको विनाश गर्ने भएपछि शिवले त्यसलाई पिइदिए । विषको असरले उनको शरीरमा जलन हुन थालेपछि पानीले सेचन गर्दै शितलता प्रदान गरियो । त्यही बेलादेखि शिवलाई जल चढाउने परम्परा सुरु भएको बताइन्छ ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?