 
																			१३ साउन, विराटनगर । मोरङमा अशक्त किशोरीमाथि भएको सामूहिक बलात्कारको घटना मिलापत्र गरी सामसुस पार्न खोजिएको छ । अशक्त किशोरीमाथि भएको बलात्कार प्रहरीसम्म पुग्न नदिई गाउँमै पञ्चायती राखेर १ लाख ५० हजार रुपैयाँ लेनदेनमा मिलापत्र गर्न खोजिएको हो ।
घटना गत असार २० गते हो । पीडितका अनुसार मोरङको रंगेली नगरपालिका–९ सखुवाथानकी १६ वर्षकी अशक्त किशोरीमाथि तीनजनाले सामूहिक बलात्कार गरेका थिए । असार २६ गते गाउँमै भएको पञ्चायतीमा प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिने सहमति गर्दै पीडित परिवारलाई घटना सार्वजनिक नगर्न नल्याउन दबाव दिएका थिए ।
बलात्कारको घटनामा मिलापत्र गराएको जानकारी पाएलगत्तै प्रहरीले रङ्गेली ९ संखुवाथानका २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई पक्राउ गरेको छ । घटनामा संलग्न भनिएका २३ वर्षका सुनील चौधरी फरार छन् । पक्राउ परेका दुई जनलाई करणीसम्बन्धी मुद्धामा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले बताए ।
प्रहरीका अनुसार गत असार २० राति मादक पदार्थ सेवन गरेका तीनजनाले चुरोट सल्काउन सलाई माग्ने निहुँमा किशोरीको घरमा पुगेका थिए । राति करिब साढे ८ बजेको समयमा शौचालय गर्न निस्किएकी किशोरीलाई घर नजिकैको धान कुट्ने मिलको बरण्डमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ । अशक्त किशोरी राम्रोसँग बोल्न र कान सुन्न सक्दिनन् ।
घटना बाहिर आएपछि गाउँका भद्रभलादमीले पीडितलाई सहीछाप गराएर १ लाख ५० हजार रुपैंया दिने सर्तमा मिलापत्र गराएका हुन् । मिलापत्र गराउने क्रममा स्थानीय ९ जना मानिस सहभागी थिए ।
प्रहरी निरीक्षक कार्कीका अनुसार पीडित किशोरी बिपन्न परिवारकी हुन् । उनकी आमा दोस्रो विवाह गरेर गएकी छन् । बुबाको पनि घर नभएका कारण किशोरी फूपूको घरमा बसेकी थिइन् । तर घटना भएपछि पीडित परिवारलाई गाउँलेले प्रहरी सम्म पुग्न दिएनन् ।
‘गरिबीको फाइदा उठाउँदै पैसा दिएर मिलापत्र गराउन खोजिएको छ’ प्रहरी निरीक्षक कार्की भन्छन् ‘हामीलाई जानकारी आउनसाथ संलग्नलाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं ।’ उनका अनुसार पक्राउ परेका रोमन वैदेशिक रोजगारीबाट फर्किएका हुन् । अधिकारी र चौधरी भने भुजा बनाउने उद्योगमा काम गर्छन् ।
असार २६ गते भएको मिलापत्रमा साउन ६ गते रकम दिने सहमति भएको थियो । तर साउन ६ गतेअघि नै घटना बाहिरिएपछि लेनदेन भएको छैन । सुस्तश्रवण भएकी किशोरीलाई विराटनगरस्थित सामाजिक संस्थाको संरक्षण गृहमा राखिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4