१४ साउन, गोरखा । ७० करोड रुपैयाँ खर्च गरेर कालोपत्रे गरिएको गोरखाको सिरानचोक गाउँपालिकाको सडक एक महिना नबित्दै भत्किएको छ । लुइँटेल भञ्ज्याङदेखि चित्रेपोखरीसम्मको सडकको पहिलो खण्ड ठाउँ ठाउँमा भासिएको छ र केही ठाउँमा पहिरोले छोपेको छ ।
‘सडक बनाएको एक महिना पनि भएको छैन भत्किन थालिसक्यो,’ सिरानचोक गाउँपालिका–३ ठानीस्वाँराका स्थानीय ईश्वर लम्सालले भने, ‘कतै भासिने कतै लच्किने भएको छ, ठेकदारले कस्तो काम गर्यो खै !’
चिउरीबोटमा ग्याविन वाल नै भत्किएर सडक भासिएको छ । भत्किएको सडकमा गाडी चल्नै नसक्ने अवस्था आएको स्थानीय अशोक गुरुङले बताए । चिउरीबोट मात्र होइन थुम्की र साततलेमा समेत सडक भत्किएको र ठाउँठाउँमा ‘ग्याविन वाल’ बगाएको स्थानीयले गुनासो गरेका छन् ।
भूकम्पीय आपतकालीन सहायता परियोजना अन्तर्गत एशियाली विकास वैंकको ७० करोड रुपैयाँ र स्वीस सरकारको प्राविधिक सहयोगमा लुइँटेल भञ्ज्याङदेखि भच्चेकसम्मको करिव ३० किलोमिटर सडक कालोपत्रे भएको थियो ।
दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको उक्त सडकको पहिलो खण्डको १७.६ किलोमिटर सडक लामा अमर जेभी कन्स्ट्रक्शनले कालोपत्रे गरेको हो । उक्त सडक कालोपत्रेका लागि ४० करोड ४१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ गोरखाले जनाएको छ । १२.९७ किलोमिटरको दोस्रो खण्डका लागि २९ करोड रुपैयाँमा लामा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएर कालोपत्रे गरिएको इकाइका इन्जिनियर शैलेन्द्र भट्टले बताए ।

दोस्रो खण्ड भन्दा पहिलो खण्डमा बढी समस्या आएको स्थानीयले बताएका छन् । ‘ग्याविन वाल पनि गतिलो लगाएको छैन, ठाउँठाउँमा पहिरिएर सडक भासिएको छ, नाला पुरिएको छ । कालोपत्रे पनि देख्नको मात्रै छ, गाडीले ब्रेक लगायो भने भत्किएला जस्तो,’ पालुङटार नगरपालिका–४ का स्थानीय सुन्दर विश्वकर्माले भने ।
ठेकेदारले काममा लापरवाही गरेको भन्दै उनले आक्रोशसमेत व्यक्त गरे । ‘सडक बनाउन भनेर घर उक्लिने सिँढी भत्काइदिए, अहिले सिढी पनि हालिदिएनन्, घर उक्लिनै समस्या छ,’ सिरानचोक गाउँपालिका–३ सापकोटा गाउँका स्थानीय मिठुराम दमाइले भने ।
घरै अगाडि काम अधुरो गरेको ठानीस्वाँरा हर्मीका टेकबहादुर नेपालीको गुनासो छ । ‘खोपिल्टो छ, ठाउँठाउँमा भासिएको छ, नाली पनि गतिलो बनाएको छैन, नाली छुने गरी कालोपत्रे गरिदेउ भन्दा पनि मानेनन्,’ उनले भने । अनुगमनका लागि आएको टोलीले पनि राम्र्ररी अनुगमन नगरेको उनले गुनासो गरे ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार विकास इकाइका गोरखा प्रमुख रामशरण आचार्यले भत्किएको सडक मर्मतका गर्न ठेकेदारलाइ भनिसकेको बताए । ‘ठेकेदारालाइ ओर्क अर्डर दिइसकेका छौ, मर्मतको काम भइरहेको छ,’ उनले भने ।
सिरानचोक गाउँपालिका–३ चिउरीबोटमा गएको पहिरो हटाउने काम बुधबारदेखि शुरु हुने उनले दावी गरे । पहिरोका कारण दुइ सातादेखि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प छ । यातायात ठप्प हुँदा स्थानीयले समस्या भोग्नुपरेको छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4