Comments Add Comment

युरोप र श्रीलंका घुमेर फर्केका सांसद भन्छन्– फुर्सद थियो, फुत्त गइयो !

१५ साउन, काठमाडौं । सांसदहरुका दुई टोलीले हालै युरोप र श्रीलंकाको भ्रमण गरेका छन् । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहसहितको पाँच सदस्यीय टोलीले युरोपको भ्रमण गरेको छ भने अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालसहितको टोलीले श्रीलंका भ्रमण गरेको छ ।

लेखा समितिका सभापति शाह समितिले नै विभिन्न निकायको बेरुजुबारे अध्ययन गर्न गठन गरेको राजेन्द्रकुमार केसी नेतृत्वको उपसमितिको टोलीसँग युरोप गएका हुन् ।

दूतावासको बेरुजुको अवस्था बुझ्न भन्दै गएका उपसमिति संयोजक केसी, समितिका सभापति शाह, उपसमिति सदस्य चन्दा चौधरी, प्रेम आले र अमनलाल मोदीले युरोपका बिभिन्न चार दुतावासको भ्रमण गरेका हुन् ।

अर्थ समितिका सभापति दाहालसहितको टोली भने १४ औं पश्चिम एसिया बेसबल कपमा सहभागी हुन श्रीलंका गएको हो ।

नेपाल बेसबल संघको टोलीका खेलाडीहरुसँगै समिति सभापति दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई र पूर्वसभासद अनन्त पौडेल श्रीलंका गएका हुन् ।

युरोप भ्रमणको उद्देश्य : दूताबासको बेरुजु हेर्ने

संसदको सार्वजनिक लेखा समितिका सदस्य राजेन्द्र केसीको संयोजकत्वमा एउटा संसदीय उपसमिति छ । गत पुस १९ गते गठित केसी नेतृत्वको उपसमितिलाई अर्थ, पर्यटन, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगमा भएको बेरुजु छानविन गर्ने जिम्मेवारी दिइएको छ ।

अध्ययनका क्रममा दूतावासहरुको धेरै बेरुजु रहेको पाएपछि उपसमितिले युरोपका चारवटा (साउदी अरेबियाको रियाद दुतावास, फ्रान्सको पेरिस, जर्मनको बर्लिन र इंग्ल्याण्डको लण्डन) नेपाली दुतावासको स्थलगत भ्रमण गर्ने निर्णय गर्‍यो । यसलाई मूल समिति (सार्वजनिक लेखा समिति) र मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेपछि आफूहरु युरोप गएको भ्रमण टोलीका सदस्य तथा उपसमिति सदस्य केसीले बताए ।

‘सरकारको आर्थिक सुशासन कस्तो छ ? दुतावासमा समेत बेरुजु देखिएका छन् । भिसाबाट प्राप्त रकम राष्ट्रिय ढुकुटीमा आएको छैन् । भिसाबाट प्राप्त रकम त्यहीँ फर्निचर र अन्यमा खर्च भइरहेको जस्ता विषयले धेरै बेरुजु आएको भन्ने भएपछि हामीले चारवटा राजदुतावास पुगेर हेर्यौं,’ संयोजक केसीले अनलाइनखबरसँग भने ।

भिसा स्टिकरको रकम आफैँ खर्च नगर्न निर्देशन

अध्ययनका क्रममा दूतावासलाई भिसा स्टिकरको पैसा राष्ट्रिय ढुकुटीमा जम्मा गर्न निर्देशन दिइएको उपसमिति संयोजक केसीले बताए ।

भ्रमणका क्रममा दूतावासका जति बेरुजु देखिएका छन्, त्यसमा छलफल भएको र कुटनीतिक आचारसंहिताका सन्दर्भमा समेत निर्देशन दिइएको केसीले बताए ।

जवाफमा दुतावासका प्रतिनिधि वा नेपाली राजदुतहरुले अब सुधार गरेर जाने प्रतिवद्धता जनाएको केसीको भनाइ छ । ‘उहाँहरुले अब हामी सुधार गर्छौं भन्नुभयो, हामीले राम्रो काम गरेर राम्रो संदेश दिनुपर्छ भन्यौं,’ केसीले भने ।

साथै, खर्चको भौचरहरु नराखेको, नेपाल सरकारको नामबाट जति पनि खर्च हुन्छ । त्यो नेपाल सरकारको लेखा प्रणालीबाट नभएको विषयमा समेत अबदेखि त्यसो नगर्ने र भिसा स्टिकरको पैसा राष्ट्रिय ढुकुटीमा जम्मा गर्न निर्देशन दिइएको उनले बताए ।

असार २६ गते युरोप गएको टोली साउन २ गते स्वदेश फर्किएको छ । दुई दिन साउदी अरेबिया, दुई दिन फ्रान्स, दुई दिन जर्मन, दुई दिन इंग्ल्याण्डमा बिताएको र एक/एक दिन जान र आउन समय लागेको केसीले सुनाए ।

भ्रमणमा कति खर्च भयो भन्ने चाहिँ संयोजक केसीले खुलाएनन् । ‘समितिले निर्णय गरेर, मन्त्रिपरिषदले निर्णय गरेर गएका हौं । यति खर्च गर्‍यो, उति खर्च गर्‍यो, खान गयो भन्नेखालका विषय पनि आएका छन्’ केसीले भने, ‘कति खर्च भयो भन्ने औपचारिकरुपमा सम्बन्धित निकायमा सोध्दा थाहा भइहाल्छ ।’

श्रीलंका भ्रमण अनौपचारिक !

श्रीलंका भ्रमणमा गएको अर्थ समितिका सभापति दाहालसहितको टोलीले भने आफूहरुको भ्रमण अनौपचापरिक मात्र भएको बताएको छ ।

नेपाल बेसबल संघको टोलीका खेलाडीहरुसँगै समिति सभापति दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई र पूर्वसभासद अनन्त पौडेल श्रीलंका गएका थिए ।

तर, यो भ्रमण सांसदका रुपमा औपचारिक भ्रमण नरहेको भ्रमण टोलीका सदस्य रामचन्द्र राई बताउँछन् ।

‘त्यस्तो औपचारिक भेट केही भएन । तर, एउटा अमेरिकी नागरिकले बेसबललाई सहयोग गर्नुपर्छ भनेर साधेका थिए । यो विषयमा नेपाल बेसबल संघका महासचिवलाई नै भेटेर कुरा गर्न सुझाएँ,’ राईले भने ।

तर, सांसद राईले ती अमेरिकी नागरिकको नाम भने भुलेको बताए । उनी भन्छन्, ‘अमेरिकी एउटा नागरिकले बेलबललाई सहयोग गर्नुपर्छ भनेको हो, आफू खेल क्षेत्रको व्यक्ति हुँ भन्थे । तर, त्यस्तो औपचारिक कुरा केही भएन ।’

बेसबल अमेरिका र जापानको राष्ट्रिय खेल हो । उनीहरु अफ्नो राष्ट्रिय खेललाई विश्वव्यापी रुपमा फैलाउन चाहन्छन् । नेपालमा पनि बेसबल खेल विस्तारमा केही सहयोग गर्न पर्छ कि भनेर अनौपचारिक भेटमा कुनै अमेरिकी नागरिकले भनेको विषयलाई सांसद राईले सहयोगको आश्वासन आएको सुनाए ।

आफूहरुले अनौपचारिकरुपमा नेपालमा पर्यटन प्रर्वद्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेको उनले बताए गरे । राईले भने, ‘नेपालको पर्यटनको विषयमा पनि छलफल भयो ।’

‘खेलमा सहभागी हुन आएका अन्य देशका प्रतिनिधिहरुसँगको अनौपचारिक कुराकानीमा नेपाल प्राकृतिकरुपमा सुन्दर देश हो भन्ने कुराहरु गर्‍यौं,’ उनले भने ।

साथै नेपाल र श्रीलंकाबीच सिधा हवाइ सम्बन्ध जोड्ने विषयमा पनि अनौपचारिक भेटमा कुराकानी भएको सांसद राईले सुनाए ।

असार ३० गते गएर साउन ५ गते फर्किएको बेसबल खेलाडीहरुको टिममा सँगै गएका अर्थ समितिका सभापति दाहाल र राष्ट्रिय सभा सदस्य राईले आफूहरु माननीय भएर श्रीलंका नगएको दाबी गरे ।

‘हामी अनौपचारिकरुपमा नै गएका हौं । यहाँ माननीय भयौं । त्यहाँ त खेल टिमसँग गयौं,’ राईले भने ।

राईले अगाडि भने, माननीयहरुको फुर्सद छ भने गइदिनु भनेर बेसबलको महासचिवले अनुरोध गरे । फुर्सद थियो, फुत्त गइयो ।’

भ्रमणमा आयोजकको र आफ्नो व्यक्तिगत खर्च भएको राईले स्पष्टीकरण दिए । उनले भने, ‘आयोजकले बेसबल टिमसँग आएको भनेर २/३ दिन राख्यो, खुवायो । घुम्ने कुरामा हामीले आफ्नो खर्च गर्‍यौं । राजदूतसित हाम्रो सम्बन्ध थियो, उहाँसँगै घुम्यौं । ७०/८० हजारजति व्यक्तिगत खर्च भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment