+
+

कालिका क्याम्पसमा २० करोडको भवन बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १४:१८

२१ साउन, बुटवल । देशको उत्कृष्ट सामुदायिक विद्यालयमध्येमा पर्ने बुटवलको कालिका मानव ज्ञान मावि पनि पर्छ ।

मन्टेश्वरीदेखि अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई हुने कालिका मुलुककै धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय हो । विद्यालयमा अहिले करिब ७ हजार विद्यार्थी अध्ययनरत छन् ।

गत वर्षको एसईईमा विद्यालयबाट ३ सय ७१ जना विद्यार्थी सहभागी थिए । विद्यालयमा दुई सय बढी शिक्षक कर्मचारी कार्यरत छन् ।

विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानून, शिक्षा र कम्प्युटर विज्ञान संकायमा पढाई हुँदै आएको छ ।

यही विद्यालयको नेतृत्वले शिक्षामा फड्को मार्दै २०७० देखि बुटवल कालिका क्याम्पसको नामबाट बीबीएस र गत वर्षबाट बीसीए कक्षा पनि शुरु गरेको छ । क्याम्पस भने  स्वायत्त र छुट्टै स‌ंस्थाको रुपमा सञ्चालित छ ।

क्याम्पसमा अहिले करिब साढे ५ सय विद्यार्थी छन् । हालसम्म विद्यालयकै भवनमा सञ्चालित क्याम्पस अब बुटवल १० रामनगरस्थित विद्यालयको सेक्टर २ भवन परिसरको १० कट्ठा जग्गामा बनाउन शुरु भएको छ ।

२० करोड लागतमा अत्याधुनिक सुविधासहितको तीनतले भवन बनाउने लक्ष्य रहेको क्याम्पसका संयोजक दिनेश थापाले बताए ।
‘नयाँ भवन बनेपछि स्नातक तहमा पनि विज्ञान, शिक्षा, मानविकी र कानुन संकाय पनि सञ्चालन गर्ने लक्ष्य छ’ संयोजक थापाले भने, ‘कम्तीमा १५ सय विद्यार्थी पढ्न सक्ने गरी भवन डिजाइन गरेका छौं ।’

एल आकारमा बन्ने तीन तले भवनमा ४२ वटा कक्षा कोठा तथा भुई तलामा विज्ञान, कम्प्युटर, इलेक्ट्रोनिक्स गरी तीनवटा प्रयोगशाला, पुस्तकालय बनाइने छ । चालु आर्थिक वर्षमा १८ वटा कोठासहित एकतलाको काम पूरा गर्ने लक्ष्य रहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए ।

सीमित आन्तरिक स्रोतबाट भवन बनाउन शुरु गरिएको र अपुग रकम प्रदेश र संघीय सरकारसंग माग गर्ने उनले बताए ।
‘उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि अन्यत्र भौंतारिनु नपरोस् भन्ने हाम्रो अभिष्ट हो’ क्याम्पस प्रमुख घनश्याम पाठकले भने ‘क्याम्पसलाई भविष्यमा विश्वविद्यालयको रुपमा विकास गर्ने सपना छ ।’

क्याम्पसले हालै प्रकाशित बीसीए परीक्षाको नतिजामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराई देशभरमै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको संयोजक थापाले बताए । क्याम्पसको भवन निर्माणमा निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रमको रकम लगानी गर्ने रुपन्देही २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले प्रतिवद्धता जनाएका छन् ।

प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले क्याम्पस भवन निर्माणमा प्रदेश सरकार सहयोग गर्ने बताए । क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष अर्जुनमान सैजुले १८ महिनामा भवनको निर्माण पूरा गर्ने लक्ष्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?