६ भदौ, बुटवल । नेत्रविक्रम चन्द विप्लव समूहका रुपन्देही जिल्ला जनसरकार उपप्रमुखसहित ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-११ का ५० बर्षीय बिक्रम यादव, रुपन्देहीको गैडहवा गाउँपालिका-६ का ४३ बर्षीय रुदल यादव र सियारी गाउँपालिका-४ का ६३ बर्षीय विष्णुप्रसाद तिवारी (मुकेश) रहेका छन् ।
पक्राउ परेका बिक्रम यादव विप्लव समूहका जिल्ला जनसरकार उपप्रमुख हुन् भने रुदल यादव प्रादेशिक जनसरकार सदस्य हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश-५ का प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको घर र गाडीमा बम विष्फोट गराएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गत साउन ३१ गते राति रुपन्देही सैनामैना नगरपालिका-८ शान्तिटोल स्थित ढकालको निवासमा विष्फोटन र आगजनी भएको थियो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि रुपन्देही गैडहवा गाउँपालिका-२ सानो धुपहीस्थित एनसेल टावरमा साउन १५ गते आगजनी र बम विष्फोटमा समेत संलग्न रहेको अभियोगमा उनीहरुविरुद्ध मुद्धा दर्ता भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।