Comments Add Comment

सम्झौताको भोलिपल्टै मेलम्चीमा काम थाल्न सिनो हाइड्रोलाई आग्रह

१८ भदौ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनामा ठेक्का सम्झौता हुनासाथ काम थाल्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई आग्रह गरेको छ । मेलम्चीको बाँकी कामको लागि सिनो हाइड्रो छानिएपछि सरकारले यस्तो आग्रह गरेको हो ।

छनोट भइसके पनि अहिलेसम्म सिनोले बैंक ग्यारेन्टी ल्याउन बाँकी रहेकाले सम्झौता हुन सकेको छैन ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले अनौपचारिक रुपमा भएको छलफलमा सिनोलाई सम्झौता भएको भोलिपल्टैबाट कार्यस्थलमा काम सुरु गर्न आग्रह गरेको बताए । यो कम्पनी हाल माथिल्लो तामाकोसीको प्रमुख ठेकेदार हो ।

‘सिनो सकारात्मक’

सिनोले कुलेखानी तेस्रोमा काम गरेको थियो भने निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा यही कम्पनीले काम पाउँदैछ । मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुईवटा प्याकेजमा डिभिजन गरेर ठेक्का लगाएको थियो । दुवै ठेक्कामा सिनो नै छानिएको छ । यसले सुरुङ र हेडवर्क्सका कामका लागि फरक-फरक ठेक्का पाएको छ ।

‘यो रुग्ण बनेको आयोजना हो, यसमा हामीले आवश्यक वातावरण तयार गर्ने प्रतिवद्धता गरेका छौं,’ पन्तले भने, ‘तर विगतमा जस्तो मोबिलाइजेसन चार्ज लिएपछि काम सुरु गर्न महिनौं लगाउने अवस्था नहोस् भनेका छौं । त्यसमा सिनो पनि सकारात्मक छ ।’

सरकारले सम्झौता हुनुअघि नै अनौपचारिक तवरमा मेसिन, उपकरण र जनशक्ति व्यवस्थापन गरेर कार्यस्थलमा तयारी अवस्थामा बस्न आग्रह गरेको हो । त्यसका लागि आवश्यक सहजीकरण गर्न आयोजना तयार देखिएको छ ।

काम देखाउने अवसर

सिनो हाइड्रो नेपालको जलविद्युत आयोजनाहरुको निर्माणमा अनुभवी कम्पनी हो । संयोग के छ भने यसअघि इटालियन कम्पनी सीएमसीले मलम्चीको ठेक्का पाउँदा सिनो हाइड्रो दोस्रो कम रकम कबोल गर्ने कम्पनी थियो । सीएमसी भागेपछि मेलम्चीको थोरै मात्रै बाँकी रहेको काम सकाउने जिम्मा उसैले पाउँदैछ ।

कम्पनीले हेडवर्क्सतर्फ २९ प्रतिशत बिलोमा गएर ९० करोडमा ठेक्का सकारेको छ भने सुरुङतर्फ १५ प्रतिशत बिलोमा ७५ करोडमा ठेक्का लिन पाउने भएको छ ।

आयोजना प्रमुख सूर्य कँडेल सिनोले यो आयोजनालाई आफ्नो प्रतिष्ठाको विषय बनाएर काम गर्ने विश्वास व्यक्त गर्छन् । सिनोले नेपालका थुप्रै आयोजनाहरु काम गरेर सफल उदाहरण पेश गरेकाले मेलम्चीमा पनि उसलाई राम्रो अवसर रहेको उनको भनाइ छ ।

मेलम्ची आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर सरकारले अघि बढाउन लागेको छ । तर, त्यसमा ढिलाइ भइरहेको छ । २ वटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको थियो भने बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकेदारलाई दिइएको छ ।

केके काम बाँकी छ ?

सिनोले हेडवर्क्सतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल बि्रजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडानलगायतका काम गर्नुपर्ने छ ।

यस्तै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकेदारसँग समन्वयको काम पनि गर्नुपर्छ ।

सुरुङमार्गतर्फ सिनोले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ । सुरुङमा भेन्टिलेसन बनाउने काम तथा विभिन्न स्थानमा पाइप आपूर्ति र जडानको काम पनि बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment