Comments Add Comment

प्रदेशले किनेका प्रहरीका ९ वटा गाडी चौरीमा थन्किए

२ असोज, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले नेपाल प्रहरीका लागि खरिद गरेको नौ वटा पिकअप गाडी वितरण हुन सकेको छैन । पर्याप्त गाडी नहुँदा र भएको गाडी समेत थोत्रा भएका कारण प्रहरीलाई नियमित काममा समस्या भइरहेको बेला प्रदेश सरकारले किनेको गाडी भने थन्केर बसेको छ ।

प्रदेश सरकारले नौ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयको लागि भनेर गाडी खरिद् गरेको थियो । गाडी खरिद्को लागि गत आर्थिक वर्षमा सरकारले बजेट विनियोजन गरेको थियो । दुई महिना अगाडि नै गाडी खरिद् भए पनि प्रदेश प्रहरी गठन सम्बन्धि विधेयक नबनेका कारण गाडी वितरणमा समस्या आएको हो ।

अहिले खरिद गरिएका गाडीहरु आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिसरमा थन्काईएको छ । गाडीमा खिया लाग्न र घाँस उम्रिन नदिनका लागि गाडी कहिले एउटा कुनामा त कहिले अर्को कुनामा राख्ने गरिएको छ । मन्त्रालयका एकजना कर्मचारीका अनुसार माथिको निर्देशन बेलाबेलामा गाडी एताउति सार्ने गरिएको बताए ।

विधेयक बन्न समय लाग्ने भएपछि गाडी वितरणका लागि मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय नआउन्जेल गाडी वितरण प्रक्रियामा समस्या आएको हो । निर्णय आए लगतै जिल्लाका प्रहरी प्रमुखलाई धनगढी बोलाएर गाडी हस्तान्तरण गरिने मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बताए ।

उनले प्रदेश प्रहरी गठन भएपछि गाडी बाँड्ने भनेर गतवर्षको बजेटमा कार्यक्रम स्वीकृत गरेर गाडी खरिद गरिएको भएपनि प्रहरी विधेयक नबनेका कारण गाडी खरिद गरेर पनि वितरणमा समस्या आएको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा प्रहरी गाडी खरिद्का लागि प्रति गाडी ४२ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । गाडी खरिद् गर्दा प्रति गाडी ३६ लाख ९९ हजारका दरले खर्च भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका लेखा अधिकृत नारायणदत्त मिश्रले जानकारी दिए । नौ वटा गाडी खरिदमा तीन करोड ३२ लाख ९१ हजार रुपैयाँ खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment