१४ कात्तिक, वीरगञ्ज । औधोगिक प्रदुषणका कारण विषालु बनेको सरिसवा (सिर्सिया) नदी बचाउन वीरगञ्जका सरोकारवाला जागरुक भएका छन् । सिर्सिया नदी एवं वीरगञ्ज प्रदुषण मुक्त अभियान पर्सामा आवद्ध विभिन्न व्यक्ति तथा संस्थाले नदी प्रदुषणबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् । अभियानकर्मीहरुले सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेत र वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
ज्ञापनपत्र बुझ्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले सिर्सिया नदीको सभ्यता जोगाउन प्रदुषणमुक्त बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । ‘म पनि केही उद्योग घुमेको थिँए, सबैले नदीमा प्रदुषण गरेका छन् । ट्रिटमेन्ट प्लान्ट बनाएकाले पनि देखाउनलाई मात्रै बनाए झै छ,’ नगर प्रमुख सरावगीले भने, ‘ प्रदुषण गर्नेलाई वडा अध्यक्षहरुले गाउँबाट मानिस बोलाएर घेरेर प्रहरीको जिम्मा लागाउँदा हुन्छ, कोही छुटाउन आउँछ भने उसलाई पनि नगरबासीले छोड्नु हुँदैन ।’
०६७ मंसिर २२ मा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकको निर्णय अनुसार गठित सरिसवा नदी अनुगमन समितिले ०६७ माघ १७ गते बुझाएको प्रतिवेदनको प्रतिलिपीसहित ज्ञापनपत्र बुझाइएको स्वच्छ वातावरण श्रृजना अभियान नेपालका अध्यक्ष ओमप्रकाश साह कानुले जानकारी दिए ।
‘सरिसवा नदीलाई प्रदुषण मुक्त बनाउन संस्थाको पहलमा सिर्सिया नदी अनुगमन समिति २०६७ गठन गरिएको थियो । समितिले चोर्नी, लालपार्स, लिपनीविर्ता, भवानीपुर, मनियारी, प्रसौनी विर्ता, रामगाढवा, श्रीसिया लगायत गाउँको स्थलगत अवलोकन गरेर स्थानीयको प्रतिक्रिया सहितको प्रतिवेदन तयार पारेको थियो,’ उनले भने, ‘ कुन उद्योगले के–कसरी प्रदुषण गरिरहेको छ ? भनी सम्पूर्ण सत्य तथ्य खुलाइ प्रशासनलाई प्रतिवेदन पेश गरेको भएपनि उद्योगीहरुलाई कुनै कारबाही भएको छैन ।’
अभियानका संयोजक सुरेन्द्र प्रसाद कुर्मीले प्रदुषण गर्ने एक दर्जन उद्योगको नामै किटेर वीरगञ्ज महानगरपालिका समेतलाई विपक्षी बनाएर पर्सा जिल्ला अदालतमा उजुरी दिएका थिए । तर उद्योगी र महानगरपालिकाले नदीमा प्रदुषण नगरेको प्रत्युत्तर दिएको अधिवक्ता समेत रहेका कुर्मी बताउँछन् ।
‘एक वर्ष अघि हामीले नदी प्रदुषण गर्नेहरु विरुद्ध अदालतमा उजुरी समेत दिएका हौं, तर उनीहरुले नदीमा प्रदुषण नै नगरेको भनेर उत्तर पठाएका छन्,’ अधिवक्ता कुर्मीले भने, ‘ अब हामी नदी सफा नभएसम्म आन्दोलन गर्छौ, सांसद, सभासदलाई सदन तताउन भन्छौं, जनतालाई सडकमा उतार्छौ ।’
वीरगञ्ज महानगरपालिकाका पीडित जनता हाल मर्ने बाँच्ने दोसाँधमा कष्टकर जीवन यापन गररहेको बताउँदै उनले महानगरपालिकाबाट न्याय नपाए आफ्नो न्याय आफै गर्ने बाध्यातात्मक स्थिति सृजना हुन सक्ने चेतावनी दिए ।
‘छठ पुजाको समयमा नगरपालिका र जिल्ला प्रशासनको आग्रहमा उद्योगहरुले नदीमा फोहोर नहल्दा पानी केही हदसम्म सफा हुने सर्वविदितै छ । यस तथ्यले पनि नदीलाई उद्योगीहरुले प्रदुषित गरिरहेको प्रष्ट हुन्छ,’ उनले भने, ‘ सिर्सिया नदी र विरगञ्ज महानगरपालिकालाई प्रदुषण मुक्त बनाई ‘स्वच्छ स्वस्थ विरगञ्ज’ बनाउन नदीलाई प्रदुषण गर्ने उद्योगहरु उपर कारबाही हुनुपर्छ, महानगरपालिकाबाट निस्केको फोहोर सहितका पानीलाई ‘ट्रिटमेन्ट’ गरी नदीमा खसाल्नुपर्छ ।’
ज्ञापनपत्र बुझाउने टोलीमा सहभागीहरुले ‘हर रोग के एकेगो दवाइ, सरिसवानदी प्रदुषण मुक्त बनाइ, पानी सुद्धिकरणका विधिहरु अपनाउने गरौं बानी, सफा सरिसवानदीको पानी, सुरक्षित खाना पानी, सरिसवा नदी प्रदुषण मुक्त गरौँ, सरसफाई र स्वच्छता सम्बन्धी बानी व्यवहार अपनाउने गरौँ, सरिसवा नदीको प्रदुषण र फोहोरलाई सबैले गर्छन् निन्दा, सफा सुग्घरी बनौँ सबै हामी आजैदेखि सदा, सरिसवा नदीमा प्रदुषण गर्ने अब हुन्छ दण्डित, गाउँ समाजमा त्यस्ता मानिस हुन्छ प्रतिबन्धित, सरिसवानदी प्रदुषण मुक्त गरौँ, बलबालिकाको जीवन बचाऔँ, औद्योगिक प्रदुषण बन्द गर, स्वच्छ वातावरणमा बाच्न देउ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
सिर्सिया नदीमा प्रदुषण गरेको आरोपमा २ जना पक्राउ
सिर्सिया नदीमा प्रदुषण गरेको आरोपमा पर्सा प्रहरीले बाराबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २३ स्थित हिमालय लेदर उद्योगका सञ्चालक चिनियाँ नागरिक ३६ बर्षीय लिउता छुवाङ र व्यवस्थापक भारत घर भई जिल्ला मकपवानपुर बस्ने ३५ बर्षीय तिनजुङग गुरुङलाई पक्राउ गरेको हो । छाला प्रशोधनपछि निस्केको रसायनयुक्त प्रदुषित पानी वीरगञ्ज महानगरपालिका वडा नं ३२ चोर्नी स्थित सिर्सिया नदीमा खुल्ला रुपमा बगाइएको स्थानीयको उजुरीपछि उनीहरुलाई प्रशासनले पटक पटक प्रदुषित पानी नदीमा नबगाउन अनुरोध गरेको थियो । तर अटेर गरेपछि उनीहरुलाई कात्तिक १३ गते बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
एउटा उद्योगीलाई कारबाही गरेपनि सिर्सिया नदीलाई प्रदुषित बनाउने अन्य उद्योगीहरुलाई भने कारबाही हुन सकेको छैन । सिर्सिया नदीको रुपमा परिचित सरिसवा नदी वीरगञ्ज महानगरपालिकाको मध्य भाग हुँदै बग्ने गरेको छ । बाराको राम वनबाट निर्मल जल वीरगञ्ज–१ छपकैयासम्म पुग्दा पूर्ण रुपमा विषमा परिणत भइसकेको हुन्छ ।
छठ पर्वका लागि सिर्सिया नदी किनारमा पनि दर्जनौं छठघाट बनाइन्छ । तर ब्रतालुहरुले सिर्सिया नदीको पानीमा डुबुल्की मारेर निर्धक्कसँग छठीमैयाँको पुजा र सुर्यको आराधना गर्न पाउँदैनन् । कारण नदीलाई महानगरपालिकाभित्र रहेका नेशनल लेदर इण्डष्ट्रीज प्रा.ली., प्रोवायटेक इण्डष्ट्रीज प्रा.ली., नेपाल लेदर इण्डष्ट्रीज प्रा.ली., शुशिल वनस्पति, अर्निका प्रोसिस, मोरियम लेदर, त्रिशक्ति सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कलश सिमेन्ट लगायतका उद्योगहरुले प्रदुषित बनाईदिने गरेका छन् । हार गुहार गरेपछि छठमा उद्योग बन्द गरेपछि नदीमा केहि सफा पानी आउने गरेको छ ।
अन्य समयमा उद्योगहरुबाट निस्केको बोसो, रौं, रसायन पशु शरीरको ठोस अवशेष समेत पानीमा मिसाएर नाला मार्फत सरिसवा नदीमा खसाउने गरेका छन् । कतिपय उद्योगले छाई नदीको किनारमा थुपार्ने गरेका छन् । त्यतिमात्रै होईन, वीरगञ्ज महानगरपालिका स्वयंले फोहोर पानीको नालाको निकास नदीमा नै दिएको छ । शहर भरीका स–साना उद्योग र शौचालयका पानीले समेत नदीलाई दुर्गन्धित पारिरहेको छ । नगरपालिकामा संकलन भएका फोहोर मैला समेत सिर्सिया नदी किनारमै भण्डारण गरिँदै आएको छ ।
सिर्सिया नदीको पानी प्रदुषणबाट नदीका सम्पूर्र्ण जलचरहरु मरिसकेको,माछा, भ्यागुतादेखि सर्प समेत अब नदीमा देखा पर्न छोडेको, यसले जैविक विविधता नै समाप्त भईरहेको अभियन्ताहरुको भनाइ छ । उनीहरुले प्रदुषित नदीले गर्दा छाला, मुटु, क्यान्सर, दम रोगहरुको विरामीको संख्या बढदै गएको दावी गरेका छन् ।
प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह सिर्सिया नदीको प्रदुषणमुक्त बनाउनुको विकल्प नभएको बताउँछन् । ‘ नदी प्रदुषित हुँदा के हुन्छ ? भन्ने कुरा जनप्रतिनीधिहरुलाई हामीले भन्नुपर्ने कुरा होइन,’ सिंहले भने, ‘त्यसमाथि हामीले नदीको पानी समेत परीक्षण गरेर त्यसको रिपोर्ट बुझाएका छौं, पानी त्यति विषालु बनेको छ कि पिउँदा मानिसको ज्यान जाने अवस्थाको छ ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4