२० कात्तिक, काठमाडौं । नेपालका युवा क्रिकेट स्टार सन्दीप लामिछानेले काठमाडौंमा घर खरिद गरेका छन् । बुढानीलकण्ठमा रहेको फराकिलो कम्पाउनन्डसहितको आकर्षक घर उनले केही दिन अगाडि खरिद गरेका हुन् ।
३ वर्षयता अन्तर्राष्ट्रिय टि-२० लिगहरु खेल्न थालेयता छोटो समयमै करोडौं आर्जन गरिसकेका छन् सन्दिपले । आठ वटा देशका टि-२० फ्रेन्चाइज खेलेका उनी सर्वाधिक देशमा क्रिकेट खेल्ने क्रिकेटरको रुपमा दर्ज छन् ।
हालै मात्र उनी बेलायतको ‘द हन्ड्रेड’ मा डेढ करोड मूल्यमा अनुबन्ध भएका थिए । साथै उनले यूएईमा आयोजना हुने टि-१० लिग पनि खेल्ने छन् । यसमा उनी ४५ हजार अमेरिकी डलरमा आबद्ध भएका हुन् ।
इन्डियन पि्रमियर लिग (आईपीएल)मा खेल्न थालेयता सन्दीपले पछाडि फर्केर हेर्नु परेको छैन । उनी नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य पनि हुन् । अन्डर १९ विश्वकपमा ह्याट्रिक गरेर चर्चामा आएका सन्दीपले १६ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
स्याङजामा जन्मेका सन्दीपको स्थायी बसोबास चितवनमा थियो । काठमाडौंमा घर खरिद गरेपछि उनले बुवा आमालाई पनि यतै ल्याएर राखेका छन् ।
सन्दीपले यो घर साढे ४ करोड रुपैयाँमा खरिद गरेको बताइएको छ । उनका म्यानेजर रमण सिवाकोटीले भने घरको मूल्य आफूलाई पनि थाहा नभएको बताए । घरभित्रको सजावट पनि निकै भव्य छ ।
प्रतिक्रिया 4