२२ कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको तीन दिवसीय क्रिकेट खेलमा नेपाल २०८ रनले पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदानमा ३९३ रनको विशाल लक्ष्य पछ्याउँदै दोस्रो पारी थालेको नेपालले ४०.३ ओभरमा सबै विकेटको क्षतिमा १८४ रनमात्रै बनाउन सक्यो ।
सोमपाल कामीले ५१, राजु रिजालले ३१, सन्दीप लामिछानले २५ रन, आरिफ शेखले १९, करण केसीले १८ र शरद भेषावाकरले १५ रन जोडे ।
पाँचौं ओभरमा २४ रन हुँदा पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र व्यक्तिगत ६ रनमा गुमाएको नेपालले १०.२ ओभरमा ५२ रन जोड्दा राजुलाई गुमाएको थियो । ५७ रन जोड्दा शरद आउट भएपछि नेपाल दबाबमा आएको थियो ।
शुक्रबार नै एमसीसीले ३६ ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएर नेपाललाई नेपाललाई ३९३ रनको लक्ष्य दिएको घोषणा गरेको थियो । दोस्रो पारीमा एमसीसीका विली गोडलम्यानले ३९, टम वेष्टलीले ३४ तथा एड योङले ३१ रन बनाए ।
नेपालका करण केसीले ३ विकेट लिए ।
पहिलो पारीमा खराब प्रदर्शन गर्दै नेपालले १५३ रनमा सबै विकेट गुमाएको थियो । यता एमसीसीले भने आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा ३६४ रन बनाएको थियो ।
नेपाली सिनियर टिम र यू–१९ टिमको समिश्रणमा नेपालले शनिबार एमसीसीसँग टी–२० क्रिकेट खेल खेल्दैछ ।