
२१ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थन लिएर राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको बाग्लुङ-२ (ख) मा नेकपाबाटै बागी उम्मेदवारी परेको छ ।
गत ०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट ढोरपाटन नगरपालिकाको मेयरमा पराजित शेरमान घर्ती मगरले बागी उम्मेदवारी दिएका हुन् ।
बागी उम्मेदवार शेरमानका प्रस्तावक ढोरपाटन-२ का दधिराम अर्याल र समर्थक निशीखोलाका रिमबहादुर बिक छन् ।
मंसिर १४ मा हुने उपनिर्वाचनमा प्रदेशसभा सदस्य जनमोर्चाले र वडाध्यक्षमा नेकपाले तालमेल गर्ने सहमति भएको थियो ।
राष्ट्रिय जनमोर्चाका बाग्लुङ जिल्ला अध्यक्ष अमर थापा शेरमानको उम्मेदवारी नेकपाले आफ्नो पार्टीसँग गरेको सहमति विपरीत भएको बताउँछन् ।
‘पहिलादेखि नै म बागी उठ्छु भनिरहनुभएको थियो’ थापा भन्छन्, ‘ठट्टा गरिरहने मान्छे, जिस्किएको होला भनेको त साँच्चै उठ्नुभएछ ।’
यस क्षेत्रमा ०७४ को प्रदेशसभा निर्वाचन यो क्षेत्रमा तत्कालीन एमाले-माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनका तर्फबाट जनमोर्चाका टेकबहादुर घर्तीले चुनाव जितेका थिए । कलेजोसम्बन्धी रोगका विरामी घर्तीको ०७५ मंसिरमा निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
को हुन् बागी शेरमान ?
गत स्थानीय निर्वाचनमा तात्कालीन माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको मेयरमा उठेका शेरमानलाई एमालेका देवकुमार नेपालीले पराजित गरेका थिए । उनले त्यतिबेला १४ सय मत पाएका थिए ।
शेरमान राष्ट्रिय जनमोर्चाबाट साविक बोबाङ गाविसका पूर्वअध्यक्ष हुन् । जनमोर्चाबाट माओवादीमा प्रवेश गरेर उनी जिल्ला कमिटी सदस्य बने । नेकपा एकीकरणपछि भने उनी पार्टीप्रति असन्तुष्ट रहँदै आएका छन् ।
सत्तारुढ नेकपाले एक्लै चुनाव जित्ने अवस्थामा हुँदाहुँदै जनमोर्चासँग तालमेल गरेकाले आफूले उम्मेदवारी दिएको शेरमान बताउँछन् । उनी भन्छन्, ‘नेकपाको प्रदेश सरकार र संघीयताको विरोध गर्ने जनमोर्चासँग त झन तालमेल गर्नै हुँदैनथ्यो ।’
कम्युनिष्ट राजनीतिमा निरन्तरको योगदान र इमानदारितालाई हेरेर बाग्लुङवासीले आफूलाई मत दिने उनको दाबी छ ।
परिणाम प्रभावित होला ?
अघिल्लो चुनावमा वाम गठबन्धनबाट उठेका जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८८४ मत ल्याएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसको ८ हजार ६२४ मत थियो ।
विगतको परिणाम हेर्दा गठबन्धनका उम्मेद्वार खिमविक्रम शाहीले सजिलै परिणाम आफ्नो पक्षमा पार्ने देखिन्छ । तर, शेरमानको उम्मेदवारीले शाहीको भोट काटिने अनुमान गरिएको छ ।
खासगरी तत्कालीन माओवादी केन्द्रको तीन हजारको हाराहारीमा रहेको मतभित्र भने शेरमानले चलखेल गर्न सक्ने नेकपाका एक स्थानीय नेता बताउँछन् ।
जनमोर्चाका करिब चार हजार र तात्कालीन एमालेको साढे तीन हजार मत भने आधिकारिक उम्मेदवार शाहीले नै पाउने नेकपा नेताको विश्लेषण छ ।
नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा आफ्नो पार्टी यो क्षेत्रमा अघिल्लो निर्वाचनमा भन्दा पनि अझै बलियो भएको बताउँछन् । विभिन्न पार्टी छाडेर नेकपा प्रवेश गर्नेको लहरै चलेको उनको भनाइ छ ।
गत निर्वाचनमा मोहन वैद्यको देशभक्त जनगणतान्त्रिक मोर्चाबाट ढोरपाटन-३ मा वडाध्यक्ष जितेका हेमेन्द्र घर्ती, मोर्चाकै गण्डकी प्रदेश कोषाध्यक्ष गुञ्जबहादुर भण्डारी नेकपा प्रवेश गरेका छन् ।
यस्तै, नेत्रविक्रम चन्द समूहका युवा संंगठनका केन्द्रीय सदस्य सुमन घर्ती पनि नेकपामा आएका छन् ।
कांग्रेसलाई फाइदा !
जनमोर्चा अध्यक्ष थापा भने शेरमानको उम्मेदवारीले कांग्रेसलाई फाइदा पुग्ने बताउँछन् । थापा भन्छन्, ‘पहिला हाम्रै पार्टीमा बसेर सामन्तवादको विरोधमा लड्नुभएका शेरमानजीले कांग्रेसलाई फाइदा पुग्ने काम गर्नुहुँदैन ।’
अघिल्लो चुनावमा वाम गठबन्धनका टेकबहादुर घर्तीले कांग्रेसका जितमान शेरचनलाई तीन हजार २६० मतले पराजित गरेका थिए । कांग्रेसले शेरचनलाई नै दोहोर्याएको छ ।
यद्यपि यो क्षेत्रमा कांग्रेसको मत पनि ‘इन्ट्याक्ट’ नरहेको नेकपाका स्थानीय नेताहरू बताउँछन् । उनीहरूका अनुसार प्रदेशसभा निर्वाचनयता कांग्रेस छाडेर अन्य पार्टीमा प्रवेश गर्ने क्रममा रोकिएको छैन ।
स्थानीय निर्वाचनमा कांग्रेसबाट ढोरपाटन-४ बाट वडाध्यक्षको उम्मेदवार बनेका अशोक बिकलाई यसपटक समाजवादी पार्टी (सपा) ले प्रदेशसभा सदस्यमा उठाएको छ । नेकपाका कार्यकर्ताहरू भने बिकले कांग्रेसको भोट काट्ने विश्वासमा छन् ।
नेकपाका बागी उम्मेदवार शेरमान चाहिँ आफूले कांग्रेस उम्मेदवारलाई पराजित गरेर देखाउने बताउँछन् । कांग्रेसका इमान्दार कार्यकर्ताले समेत आफूलाई भोट दिने उनको दाबी छ ।
उम्मेदवारी फिर्ता गराउँछौं : नेकपा
वाम गठबन्धनका बागी शेरमानको उम्मेदवारी अहिले नेकपाको टाउको दुखाइको विषय बनेको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घर्तीको उम्मेद्वारी फिर्ता हुने बताएका छन् । ‘बाग्लुङमा बागी उम्मेदवारी परेको भन्ने सुनेको छु, हाम्रो पार्टीको हो भने भोलि वा पर्सि उम्मेदवारी फिर्ता लिनुहुन्छ’ बिहीबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘कुरा अरु नै रहेछ भने मुकाबिला गर्छौं ।’
नेकपाका जिल्ला अध्यक्ष सापकोटाले पनि घर्तीको उम्मेद्वारी फिर्ता हुने बताए । अनलाइनखबरसँग उनले भने, ‘उहाँसँग निरन्तर छलफलमा छौं, हर हालतमा उम्मेदवारी फिर्ता लिनुहुन्छ ।’
शेरमान भने जिल्लामात्रै होइन, केन्द्रकै नेताहरूले भने पनि आफ्नो उम्मेदवारी फिर्ता नहुने बताउँछन् ।
निर्वाचन आयोगले उम्मेदवारलाई नाम फिर्ता लिन कात्तिक २४ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय दिएको छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4