Comments Add Comment

अकुपाई टुँडिखेल : कांग्रेस उत्साही, नेकपा कता ?

प्रतिपक्षको साथ, नेकपाको अघोषित असहयोग !

२१, कात्तिक, काठमाडौँ । पूर्वमेयर केशव स्थापितलाई धेरै काठमाडौँबासीले सम्झनुको एक प्रमुख कारण हो– माइतीघर मण्डला । संवत् २०५९ मा काठमाडौँमा सार्क शिखर सम्मेलन हुन लागेका बेला उनलाई काठमाडौँको कला र संस्कृति झल्काउने गरी सहर सजाउनु थियो । त्यसै योजना अनुसार उनले रातारात माइतीघर चोकका २२ घर भत्काए र त्यहाँ एक कलात्मक मण्डला बनाए ।

विगत १८ वर्षमा यस मण्डलाले विभिन्न विषयमा नागरिकका आवाज अभिव्यक्त गर्ने मञ्च प्रदान गरेको छ । आजसम्म आइपुग्दा स्थापितले बुझेका छन् कि मण्डलाजस्ता सार्वजनिक खुला ठाउँ महत्वपूर्ण हुने रहेछन् । ‘बेलाबेला सिंहदरबार घेरिरहनुपर्छ । यस्ता ठाउँ अझ धेरै चाहिन्छन्,’ स्थापित भन्छन् ।

यद्यपि, यस्ता खुला ठाउँ अझै धेरै हुनुपर्छ भन्ने नै मान्यतामा आधारित भई सुरु हुन लागेको ‘अकुपाई टुँडिखेल’ अभियानबारे स्थापित त्यति सरकारात्मक छैनन् ।

रत्नपार्कदेखिको सहिदगेटसम्म फैलिएको टुँडिखेललाई खाली र खुला गराउन सम्बन्धित निकायलाई दबाब दिनका लागि केही नागरिक अभियानकर्मीहरू आगामी शनिबारदेखि ‘अकुपाई टुँडिखेल’ नामको अभियान सुरु गर्दै छन् । यसको पहिलो चरणमा पर्सि शनिबार तीन हजारभन्दा बढी मानिसको हातेसाङ्लोले खुलामञ्च घेर्ने कार्यक्रम तय भएको छ ।

यो पनि पढ्नुहोस ‘खुलामञ्चमा लाज भयो, अहिले नरोके कहिले रोक्ने ?’
अकुपाई टुँडिखेलमा नि गुठी आन्दोलनकै ढाँचा दोहोरिने देखिएको छ । प्रदेश सांसद् केशव स्थापितले अभियान नेतृत्वको विरोध गरे पनि सङ्घीय सांसद् भीमसेनदास प्रधानले खुलेर समर्थन गरेका छन् ।

तर, स्थापित मात्र होइन, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँका नेताहरूले यस अभियानलाई खुलेर समर्थन गरेका छैनन् । मुख्य प्रतिपक्षी नेपाली कांग्रेसका स्थानीय नेताहरू अभियानको पक्षमा खुलेर लागिरहँदा नेकपाका नेताहरूको मौनता र अस्पष्ट जवाफले यो अभियानलाई उनीहरूले राजनीतिक रूपमा बुझे कि भन्ने देखिएको छ ।

नेकपाको अघोषित असहयोग ?

स्थापित हाल प्रदेश सभामा काठमाडौँ क्षेत्र नं ६ (क) को प्रतिनिधित्व गर्छन् र टुँडिखेल उनकै क्षेत्रमा पर्दछ । अकुपाई टुँडिखेलका कार्यक्रमबारे सामाजिक सञ्जाल मात्र नभएर मूलधारका सञ्चार माध्यममा पनि व्यापक चर्चा भइरहँदा स्थापित मौन छन् । पर्सि शनिबारको कार्यक्रमलाई सफल बनाउन लागिरहेका एक अभियानकर्मी गणपतिलाल श्रेष्ठका अनुसार स्थापितले उनको फोन समेत उठाएनन् ।

उता स्थापित भने उद्देश्य सही भए पनि हाल यस अभियानलाई नेतृत्व गरिरहेको समूहले अभियानलाई उपलब्धिमूलक निष्कर्षमा पु¥याउला र बाचा गरे अनुसार अगाडि बढ्ला भनेर आफूले विश्वास गर्न नसकेको बताउँछन् । “उनीहरू बेलाबेला जाग्छन्, तर अलिक पछि सेलाउँछन्,” उनी भन्छन्, “उनीहरूले विगतमा उठाएका मुद्दा त्यत्तिकै सेलाएर गए । अब मैले अकुपाई टुँडिखेल आन्दोलनलाई पनि त्यही दृष्टिकोणले किन नहेर्ने ?”

बरु यस्ता अभियानलाई साँच्चिकै सफल बनाउने हो भने संस्कृतिविद् सत्यमोहन जोशी वा कवि दुर्गालाल श्रेष्ठजस्ता सर्वस्वीकार्य हस्तीहरूलाई नेतृत्व दिनुपर्ने उनको सुझाव छ ।

उता, आफूहरूले उठाएका मुद्दालाई बिचमै तुहाएको भन्ने आरोप सत्य नभएको श्रेष्ठको दाबी छ । “हाम्रै पहलका कारण, सर्वोच्च अदालतले महर्जन कक्प्लेक्सलाई ३५ फिटभन्दा बढी उचाइमा जान रोकेको छ । अहिले उनीहरू माथिल्लो तल्लाका पिल्लर काट्न लागेका छन् । हामी काठमाडौँ भ्युटावर, छायादेवी कम्प्लेक्स र दुईमाजू मन्दिरका मुद्दा पनि छाड्नेवाला छैनौँ ।”

“उनीहरूले त रोक्नै चाहेका थिए नि । २० लाख रुपैयाँदेखि बार्गेनिङ् गर्दै उनीहरूले मलाई तीन करोड रुपैयाँ दिन्छु, नबोल्नू भनेँ । तर मैले मानिनँ । हामी कुरा नटुङ्ग्याएसम्म छाड्दैनौँ,” श्रेष्ठ भन्छन्, “बरु यो मुद्दा उठाउँदा उल्टै दुई लाख रुपैयाँ ऋण लाग्यो मलाई ।”

यस आन्दोलनमा सहभागी हुनका लागि आफूहरूले सत्यमोहन जोशी र दुर्गालाल श्रेष्ठलाई पनि आह्वान गरेको तर कमजोर स्वास्थ्यका कारण उनीहरू पर्सि शनिबार सहभागी हुन नसक्ने श्रेष्ठ बताउँछन् । यद्यपि कवि श्रेष्ठले यस अभियानको पक्षमा एक भिडियो सन्देश जारी गर्ने उनको दाबी छ । त्यसैले उनी स्थापितलाई प्रश्न गर्छन्, “तपाईँका लागि मुख्य कुरा के हो ? उद्देश्य कि मान्छे ?”

श्रेष्ठको बुझाइमा स्थापितले यस अभियानको विरोध गर्नुको कारण अर्कै छ । स्थानीयदेखि प्रदेश र केन्द्र सरकारसम्म नेकपा नै नेतृत्वमा रहेकाले नै स्थापितजस्ता नेतालाई यस अभियानमा सहभागी हुन गाह्रो भएको उनको भनाइ छ । “आफूहरू नै सरकारमा भएका कारण नेकपा नेताहरूलाई (सरकारका कमजोरी उजागर हुने) यस्ता कार्यक्रमहरू नभइदिए हुन्थ्यो भन्ने लागेको होला ।

गुठी आन्दोलनमा पनि त्यस्तै भयो । नेकपा सांसद् कृष्णगोपाल श्रेष्ठ र रामवीर मानन्धर आउनु त भयो, तर पार्टीले आधिकारिक रूपमा केही पनि भनेन ।” जब कि त्यस समयमा प्रतिपक्षी नेपाली काङ्ग्रेसले गुठी आन्दोलनको खुलेर समर्थन ग¥यो । यही निहुँमा कति दिन संसद् समेत अवरुद्ध ग¥यो ।

प्रतिपक्षको साथ

अकुपाई टुँडिखेलमा पनि गुठी आन्दोलनकै ढाँचा दोहोरिने देखिएको छ । टुँडिखेल पर्ने निर्वाचन क्षेत्रका प्रदेश सभाका सांसद् स्थापितले अभियान नेतृत्वको विरोध गरे पनि यस क्षेत्रका सङ्घीय सांसद् भीमसेनदास प्रधानले अभियानको खुलेरै समर्थन गरेका छन् ।

नेपाली काङ्ग्रेसका नेता प्रधानका लागि यो अभियान कुनै राजनीतिक अभियान होइन र यसको उद्देश्य राजनीतिभन्दा माथि छ । “फेरि यो मेरो क्षेत्रको मात्र होइन, टुँडिखेल सिङ्गो काठमाडौँको सम्पत्ति हो,“ उनी भन्छन्, “तर यसलाई राणाले कब्जा गरे, शाहले गरे, पञ्चले गरे । हुँदाहुँदा गणतन्त्रमा समेत यो जारी छ । अब यो अन्त्य हुनुपर्छ । टुँडिखेल खुला हुनुपर्छ ।”

अभियानलाई काङ्ग्रेसको अझ चर्को समर्थन हेर्न काठमाडौँ महानगरपालिकाको कार्यालय जानुपर्छ । आफ्नो दलका मेयर उम्मेदवारले हार्दा पनि राजधानीको उपमेयर निर्वाचित भएकी काङ्ग्रेस नेतृ हरिप्रभा खड्गी नै अभियानको प्रचारमा उत्रिएकी छिन् । बुधबार उनको कार्यालय पुग्दा उनी आफैँ आफ्ना कार्यकर्ता र चिनजानका मान्छेलाई फोन गरेर पर्सि शनिबारको कार्यक्रममा आउन निम्ता दिइरहेकी थिइन् ।

“यो हाम्रो इतिहाससँग, देशका प्रमुख राजनीतिक परिवर्तनसँग जोडिएको छ । यो काठमाडौँको सम्पदासँग पनि जोडिएको छ । आजसम्म जजसले टुँडिखेललाई कब्जा गरे, ती सबै डटाउन लाग्नुभएका अभियन्ताहरूलाई म धन्यवाद दिन चाहान्छु,” उनी भन्छिन्, “जनताले हामीलाई उनीहरूका आशा अपेक्षा पूरा गर्न विश्वास गरेर यहाँ पठाएका हुन् । म पनि उनीहरूसँगै हुनुपर्छ ।”

“म पनि एक जनता नै हुँ र जनप्रतिनिधि पनि । आफ्नो ठाउँ आफैँ जोगाउनु मेरो पनि दायित्व हो । त्यसैले म कार्यक्रममा जान्छु,” उनी थप्छिन् ।

तर, नगर प्रमुख विद्यासुन्दर शाक्य यस अभियानका विषयमा एक शब्द पनि बोलेका छैनन् । अभियन्ता श्रेष्ठका अनुसार शाक्यले पनि उनको फोन उठाएका छैनन् । यस विषयमा अनलाइनखबरले कुरा गर्न खोज्दा पनि शाक्यको फोन उठेन ।

शनिबारको कार्यक्रमलाई निम्ता दिन श्रेष्ठलगायतका केही अभियन्ता बुधबार शाक्यको कार्यालय गए । तर, उनी कार्यालयमा भेटिएनन् । “त्यसपछि हामीले आज बिहान उहाँलाई एउटा कार्यक्रममा भेट्यौँ र त्यही पत्र दियौँ,” श्रेष्ठ बताउँछन्, “उहाँले ‘म हेर्छु’ मात्र भन्नुभो ।”

“तर विगतका अनुभवका आधारमा भन्नुपर्दा, यस्ता विषयमा मेयरसापको स्पष्ट धारणा हामीले कहिल्यै पाएका छैनौँ । यो हाम्रो दुर्भाग्य हो ।”

“यो पूर्णतः गैरराजनीतिक कार्यक्रम हो । जोसुकै पनि सहभागी हुन सक्छन् । हामीले सबै राजनीतिक दल र नेतालाई समान हैसियतमा निम्तो दिएका छौँ,” श्रेष्ठ भन्छन्, “अब उहाँहरू आउनुहुन्छ कि आउनुहुन्न उहाँहरूको कुरा हो । हाम्रो चाहना त सबै आउनुहोस् भन्ने हो ।”

उनका अनुसार समाजवादी पार्टी र विवेकशील नेपाली लगायतका साना दलका नेताहरूले पनि अभियानलाई समर्थन गरेका छन् ।

त्यसो भए नेकपा नेताहरूको उत्साह किन देखिएन त ? श्रेष्ठको शंका छ, “हुन सक्छ उहाँहरू पनि विगतदेखि आजसम्म भएका विकृति विसङ्गतिमै सहभागी हुनुहुन्छ कि ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment