+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
कास्की २ को चुनावमा फौजी इन्जिनियर :

‘चुनाव हो, मैले जित्न पनि के बेर !’

अमृत सुवेदी अमृत सुवेदी
२०७६ मंसिर २ गते १९:२०

२ मंसिर, पोखरा । ‘लु है म त भोट माग्न आयो । नेपालमा कुनै पनि पोलिटिकल पार्टीले राम्रो काम गरेन । जम्मैले देशको सिस्टम बिगार्‍यो । म सिस्टम बदल्नु पर्छ भनेर भोट माग्न आएको छु,’ सोमबार विहान पोखरा–१५ हिमाली टोलमा गुरुङ लवजमा मतदातासँग भोट माग्दै गरेका भेटिए धर्मराज गुरुङ ।

लामो समय गोर्खा सैनिक रहेका धर्मराज कास्की क्षेत्र नम्बर २ मा समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् । देशमा बिग्रिएको राजनीतिक तथा सुशासनको अवस्था देखेर मन पालेकाले त्यसलाई बदल्न चुनावमा होमिएको बताउँछन् ।

धर्मराजको भोट माग्ने शैली भिन्न छ । मतदातासँग गुरुङ लवजमा ठेट कुरा बोल्छन् । बीचबीचमा अंग्रेजी शब्द मिसाउँछन् । लामो समय बेलायती सेना र संयुक्त राष्ट्रसंघमा इलेक्ट्रोनिक इन्जिनियरका रुपमा काम गरेका उनी ज्यादा आश्वासन बाँड्दैनन् ।

भन्छन्, ‘म त गुरुङको छोरो धेरै बोल्न जान्दैन । देश क्वालिटी नभएर बिग्रेको हो । पार्लियामेन्टमा क्वालिटी मान्छे चाहिन्छ । मैले धेरै देशको विकासलाई देख्यो । अनि नेपाल हेर्‍यो । नेपाल त बिग्रने भयो भनेर दुःख लाग्यो । यसपाली भोट हातमा हाल्नुस्, म संसदमा पुगेर सरकारलाई भन्छु ।’

समाजसेवा गर्छु भनेर नेपाल फर्किएका उनले कसरी समाजवादी पार्टी रोजे र उम्मेदवार बने त ? धर्मराजले यसको राज खोले । झण्डै डेढ वर्षअघि मात्रै डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा आवद्ध भएका रहेछन् । ‘बाबुरामसँग भेटेँ, कुरो गरेँ । मेरो बिचार मिल्यो । मलाई सबैभन्दा एट्राक्सन के भयो भने उहाँको सिम्प्लिसिटी । मलाई पनि त्यस्तै मन पर्छ,’ उनले अनलाइनखबरसँग भने, ‘सामान्य जीवन नै बाँच्ने हो । म पनि नाटकझाटक जान्दैन ।’

पूर्व प्रधानमन्त्री भट्टराईलाई भेट्नु अघि बाबुरामको नेतृत्वमा काठमाडौंको सडक फराकिलो बनाएको पनि चाल पाएपछि धर्मराज उनीसँग आकर्षित भएका रहेछन् । बाबुरामसँग कुरा मिल्नुको अर्को कारण, इन्जिनियरिङ फिल्ड पनि रहेछ । ‘उहाँ इन्जिनियरिङ फिल्डको मान्छे म पनि त्यही फिल्डमा लामो समय बितायो । हामी मिल्यो र केही नयाँ गर्न सक्यो भने देशको सिस्टम बदल्न सकिएला भनेर पार्टीमा लागेँ,’ धर्मराजले भने, ‘संघीय समाजवादीसँग पार्टी मिल्यो र अहिलेको चुनाउमा मलाई टिकट मिल्यो ।’

कानुन बनाउनुपर्ने सांसदले अरु काम गरेकै कारण देशले फड्को मार्न नसकेको उनको ठम्याइ छ । सांसदले नीति बनाउने र त्यहीअनुसार काम चल्नुपर्ने भएपनि नेताहरुले भनेअनुसार काम चलेकाले विकास नभएको गुरुङ बताउँछन् ।

उनले बेलायती सेना र राष्ट्रसंघमा धर्मराजले इलेक्ट्रिक डाटाबेसमा काम गरेका रहेछन् । ‘म इलोक्ट्रोनिक्स र आईटी इन्जिनियर हुँ । मैले युएनमा अफिसलाई कसरी प्रभावकारी बनाउनेदेखि डाटाबेसमा काम गर्ने भन्ने अनुभव गरें, सबको प्रोफइल बनाएर कसरी प्लानिङअनुसार काम गर्ने भन्ने काम गरें’ धर्मराजले भने, ‘सबैभन्दा महत्वपूर्ण नै कम्युनिकेसन हो । हाम्रो देश कम्युनिकेसनमा धेरै कमजोर छ । नेपालमा डेटा म्यानेजमेन्ट साह्रै दया लाग्दो छ ।’

गतिलो सांसद चुनिएर नगएकै कारण प्राविधिक क्षेत्रमा काम गरेका हजारौं युवा पलायन भइरहेको र हरदिन बिदेश जाने प्रक्रिया अगाडि बढाइरहेको धर्मराजको बुझाइ छ । विश्वका थुप्रै देश डिजिटल युगमा प्रवेश गरिरहेका बेला नेपाल कहाँनेर छ भनेर गर्न सरकारका निकायलाई हेरे पुग्ने उनी बताउँछन् । ‘कसले कसको जग्गा खाइदियो । अरुकै नाममा गराइदियो भनेर समाचार आउँछ । सप्पै लालपूर्जा नक्सा, डिजिटलाइज गरेर डाटा बैंकमा राखियो भने पो हुन्छ,’ धर्मराजले भने, ‘नेपालमा स्टक्चर नै बनेको छैन । एउटा पोलिटिकल स्टक्चर भताभुंग छ, अर्को सुशासन र विकासको स्टक्चर नै छैन ।’

सुशासनका लागि ढिलासुस्ती र घुस खाने कर्मचारीलाई तत्काल हटाउनुपर्ने उनको तर्क छ ।

राष्ट्रसंघमा काम गर्दा रुवान्डा, केन्या, इथियोपिया, जिम्बाबे जस्तै गरिब भनिएका अफ्रिकन देशको सरकार र त्यहाँ प्रणालीलाई आफूले नजिकबाट नियालेको गुरुङले सुनाए । ‘गरिब भनेका देशहरुले पनि अहिले आर्थिक वृद्धिदर र विकासमा फड्को मारिरहेको छ,’ धर्मराजले भने, ‘नेपालको विकास मोडलै ठीक भएन ।’

विकास र सुशासनका लागि ‘पोजेटिभ’ अधिनायकवाद चाहिने गुरुङको तर्क छ । ‘जसले विकास निर्माण र जनतालाई दुःख दिने काम गर्छ, तिनलाई फिल्टर गर्दै लैजानुपर्छ । राम्रो कामका लागि हुने अवरोधले पनि यहाँ विकास भएन ।’

चुनावी घरदैलोका क्रममा पनि समाजवादीका उम्मेदवार धर्मराजले देश नातावाद, कृपावाद, पार्टीवादले बन्न नसकेको बताउँदै अब त्योभन्दा माथि उठ्न आग्रह गर्छन् । ‘मलाई कसैले पैसा दिन्छु भने पनि लिन्न । किनकी पैसा दिनेको त्यहाँ स्वार्थ जोडिन्छ,’ धर्मराजले मतदातालाई आग्रह गरे, ‘चुनाव जितेपछि मात्र जनतासम्म पुगेर संवादबाट केके आवश्यकता छ, के गर्ने भन्ने प्लान गरेर पेश गर्ने हो । यहाँ भोट मान्न आउँदा पनि यो गर्छु, त्यो गर्छु भनेर झुठो कुरा गरेका छन् । आश्वासन नपत्याउनुस् । पैसा नलिनुस्–नदिनुस् ।’

आफ्नो ४ पुस्ताले समाजसेवा गरेको र निष्कलंक रहेको धर्मराजको दाबी छ । उनकाअनुसार धर्मराजका बाजे नेपाली सेनामा कालीबहादुर पल्टनका वैद्य थिए ।

अवकाशपछि उनकै पहलमा पोखरा अर्मलामा वैद्यखाना चलाइएको थियो । ‘मलाई वैद्यको नाती भनेर जम्मैले चिन्थ्यो । मेरो बुवा चाहिँ भारतीय सेना हुँदा लडाईंका बेला जर्मनले पक्रेर लग्यो र इटालीबाट फर्किएपछि गाउँकै सेवा गर्नुभयो । म पनि एउटा अनुभव बटुलें, नोकरी गरेर समाजसेवामै फर्केको छु,’ समाजवादी पार्टीका उम्मेदवार धर्मराज भन्छन्, ‘मलाई एक रुपैयाँको लोभ छैन । समाजसेवासँगै राजनीति पनि गर्नुपर्छ भनेर आएको हुँ ।’

ऊर्जाशील समय विदेशमा खर्चिएर अहिले राजनीतिमा आयो भन्छन् नि ? यो प्रश्नमा उनी अलि कड्किए । ‘मैले के देशलाई बिगारेको छु र ? म विदेश बसेर कमाए पनि देशको योगदान गरेकै थिएँ । ब्रिटिस सेनाबाट अवकाश लिएपछि युनाइटेड नेसनमा नेपाली बनेर अनुभव बटुलें,’ उनले भने, ‘बरु देशमा भाएकाले राम्रो राजनीति नगरेकाले मैले पनि प्रयास गर्नुपर्छ भनेर आएको हुँ ।’

नेपालको राजनीतिक संस्कार नबदलिएसम्म देश नबदलिने धर्मराजको बुझाइ छ । राजनीतिक संस्कार बदल्न जनताले आफूलाई जिताउनेमा उनले विश्वास व्यक्त गरे । आफू बोलेर होइन काम गरेर देखाउने भन्दै उनले भने, ‘यहाँ एउटै पार्टी र मान्छेलाई सधैं भोट हाल्ने संस्कार अन्त्य हुनु जरुरी छ ।,’

उनले मत ल्याउने आधार पनि देखाए । जातीय सम्बन्धले पनि केही मत तान्ने समाजवादीको अनुमान छ । गुरुङहरुको जिल्ला भनेर चिनिने कास्कीमा यस पटकको उपनिर्वाचनमा उनी मात्र गुरुङ समुदायका एक्ला उम्मेदवार हुन् । उनको जन्मघर अर्मला अर्थात कास्की क्षेत्र नम्बर २ को उपल्लो क्षेत्रबाट पनि अरु उम्मेदवार छैनन् । यसले पनि धर्मराजलाई हौसला मिलेको छ ।

तर अघिल्लो चुनावी मतले उनीलाई धेरै हौसला दिँदैन । यसअघिको चुनावमा संघीय समाजवादी पार्टी र नयाँ शक्तिका बेग्लाबेग्लै उम्मेदवार थिए । अहिले दुई पार्टी एक भएका छन् । गएको निर्वाचनमा संघीय समाजवादीले ३ सय ४० मत ल्याउँदै पाँचौं भएको थियो भने नयाँ शक्तिले २ सय ८३ मत ल्याउँदै छैटौं भएको थियो । यो मतका आधारमा धर्मराज जितबाट धेरै टाढा छन् । तर धर्मराज भन्छन्, ‘जनताले नेकपा सरकारले राम्रो काम गरेन भनिरहेका छन् । अनि जनता शिक्षित पनि भइसके । काम गर्ने मान्छे खोजिरहेका छन् । चुनाव हो, मैले जित्न पनि के बेर !’

तस्वीर सौजन्य : मुस्कान तामाङ

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?