+
+

सिमाना जोगाउन सुरक्षाचौकी थप्दैछौं : गृह मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ११ गते १८:५१

११ मंसिर, काठमाडौं । गृह मन्त्री रामबहादुर थापाले नेपाली भूभाग जोगाउन सीमा क्षेत्रमा सुरक्षा चौकी थप्न लागेको बताएका छन् । सिंहदरबारमा बुधबार सीमा बचाऊ अभियानको ज्ञापनपत्र बुझ्दै उनले ‘सीमा सुरक्षा निगरानी चौकी’ बढाउन लागेको बताएका हुन् ।

गृह मन्त्री थापाले भने, ‘दश–दश किलोमिटरको अन्तरमा सुरक्षा चौकी राख्ने तयारी गरिरहेका छौं ।’ अहिले ३५–३५ किलोमिटरको फरकमा सुरक्षा चौकी छ ।

सीमा बचाऊ अभियानले सीमामा चौकी र सुरक्षाकर्मी थप्नुपर्ने, सरकारी कार्यालयबाट विवादित नक्सा हटाएर नयाँ नक्सा राख्नुपर्ने, लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका क्षेत्रमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ ।

यस्तै, अभियानले सुगौली सन्धि अनुसारको नेपालको वास्तविक नक्सा बनाउनुपर्ने, विज्ञ टोली गठन गर्नुपर्ने, प्रधानमन्त्रीतहबाटै वार्ताको पहल सुरु गर्नुपर्नेलगायत सुझाव दिएको छ ।

अभियानका संयोजक वरिष्ठ पत्रकार भैरव रिसाल, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वमन्त्री शान्ता मानवी, पूर्वसांसद श्याम श्रेष्ठ, पूर्व सचिव द्वारिकानाथ ढुंगेल, नेता सोनम साथी, पूर्व राजदुत हिरण्यलाल श्रेष्ठ, प्रा डा नरेन्द्रराज खनाल लगायत मन्त्रालय पुगेका थिए ।

एक एपीएफ, सात एसएसबी

१८१६ को सुगौली सन्धिले नेपाल–भारतबीचको सिमा निर्धारण गरे पनि २३ जिल्लाका ७१ स्थानमा अझै सीमा विवाद छ । भारतसँग सिमा जोडिएका धनुषा, बैतडी र डडेलधुरा बाहेक सबै जिल्लामा विवाद छ ।

सिमाविद्हरूका अनुसार दार्चुला मात्रै नेपालको ३७ हजार हेक्टर नेपाली भूमि मिचिएको छ । यत्रो सिमाना मिचिँदा पनि नेपालले भारतको तुलनामा निकै कम सुरक्षाकर्मी तैनाथ गरेको छ ।

नेपालले सीमा क्षेत्रमा ६ हजार तीन सय सशस्त्र प्रहरी बल (एपीएफ) तैनाथ गरेको छ । जबकी भारतले ४५ हजार सीमा सुरक्षा बल (एसएसबी) परिचालन गरेको छ । अर्थात एक एपीएफ बराबर सात भन्दा बढी एसएसबी खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?