+
+

प्रदेश २ मा उपनिर्वाचन प्रचारमा मन्त्रीहरुको लर्को

श्रवण देव श्रवण देव
२०७६ मंसिर ११ गते २०:३७

११ मंसिर, जनकपुरधाम । आगामी शनिबार प्रदेश २ को १ गाउँपालिकाको अध्यक्ष र विभिन्न स्थानीय तहको ९ वटा वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

निर्वाचनको मिति नजिकिदैं जाँदा राजनीतिक दल र उम्मेदवारबाट निर्वाचन आचारसंहिता उलंघन हुने क्रम बढेको छ । संघीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु खुल्ला रुपले चुनाव प्रचार प्रसारमा सहभागी भएका छन् ।

समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले महोत्तरीको पिपरामा खुलेरै आफ्ना उम्मेदवारका लागि मत मागे । पिपरा बजारमा आयोजित चुनावीसभालाई करिब १० मिनेट सम्बोधन गरेका कानून मन्त्री यादवले विकास र सुशानका लागि आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गरे । ‘पार्टीले सक्षम, इमान्दार र काम गर्ने क्षमता भएका व्यक्तिलाई उम्मेदवार बनाएको छ’ उनले भने, ‘त्यसैले तपाईंहरुले मत दिनुहुन्छ भन्ने विश्वास छ ।’

महोत्तरीको पिपरा गाउँपालिकामा समाजवादी पार्टीले रामजानकी यादवलाई अध्यक्ष पदको उम्मेदबार बनाएको छ । रामजानकी यसअघि भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रका उम्मेदवार थिए ।

अध्यक्ष यादवले मधेशको आन, बान र शानका लागि भए पनि समाजवादी पार्टीका उम्मेदवारलाई जिताउनुपर्ने बताए । ‘शोषण, उत्पीडन हटाउँदै समृद्वि ल्याउन पनि समाजवादी पार्टीले जित्नु आवश्यक छ’ उनले भने ।

बुधबार गाडीको लावालस्करसहित उपेन्द्र यादव पिपरा पुगेका थिए ।

मुख्यमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा

प्रदेशका मुख्यमन्त्री लालबाबु राउत मंगलबार अधिकांश समय चुनावी प्रचारमै खर्चे । सरकारी गाडीमै रौतहट गएर चुनावी प्रचार गरेका उनी सोही राति महोत्तरीको पिपरा गाउँँपालिका आएर रात्रिकालिन चुनावी प्रचारमा खटिए ।

रौतहटको गढीमाई नगरपालिका २ समनपुरमा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेस आन्दोलनको उपलब्धि रक्षाको लागि समाजवादी पार्टीलाई जिताउनुपर्ने बताए ।

उनी सोही राति महोत्तरीको पिपरा आएर गाउँहरुमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गरे ।

समाजवादी पार्टीका नेता तथा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिंह कुसवाहा पनि बिभिन्न ठाउँमा भएको चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । उनीहरु सरकारी गाडीकै प्रयोग गरेर चुनावीसभामा गएका छन् ।

आफ्नै सरकारको लोभ देखाउँदै

प्रदेश २ मा समाजवादीको नेतृत्वमा राजपासहितको सरकार छ । सत्ताको नेतृत्व आफ्नो दलले गरिरहेको र आफ्ना उम्मेदवारलाई जिताइदिए यहाँको विकास राम्रोसँग गर्ने मन्त्री र नेताहरुले आश्वासन बाँडिरहेका छन् ।

५ मंसिरमा पिपरामै आयोजित चुनावीसभालाई सम्बोधन गर्न आएका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफ्ना उम्मेदवारलाई जिताइदिए प्रदेश २ मा रहेको आफ्नो पार्टीको सरकारले राम्रो विकास गरिदिने आश्वासन दिएका थिए ।

बुधबारमात्रै उपेन्द्र यादव सहभागी भएको चुनावी प्रचार अभियानमा बोल्ने समाजवादी पार्टीका नेताहरुले प्रदेश २ मा आफ्नो सरकार रहेकाले हरेक सुविधा प्रदान गरिदिने आश्वासन दिएका छन् ।

प्रदेश २ मा महोत्तरीको पिपरा गाउँपालिकासहित महोत्तरीकै बलवा नगरपालिका २, ६ र ८, सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १, रौतहटको गढीमाई नगरपालिका २, बाराको बारागढी गाउँपालिका १ र पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा उप निर्वाचन हुँदैछ ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?