+
+

कांग्रेसमा पौडेल र सिटौला समूहद्वारा केन्द्रीय समिति बैठक बहिस्कार

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २६ गते १७:०२

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको छ ।

बैठकका लागि नेताहरु केन्द्रीय कार्यालय सानेपा पुगेका थिए । तर महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउन पार्टी सभापति शेरबहादुर देउवा सहमत भएनन् ।

‘मंसिरभित्र महाधिवेशनको कार्यतालिका घोषणा गर्ने सहमति भइसकेको थियो । अब चार वर्षे कार्यकाल पनि तीन महिना मात्र बाँकी छ’ नेता डा. रामशरण महतले भने, ‘तर अहिले आएर सभापतिजी एजेण्डा बनाउन तयार हुनु भएन ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिसँग छलफल गर्दा पनि सकारात्मक जवाफ नआएको सुनाए । उल्टै विभागहरु थप गर्ने लगायतका विवादास्पद प्रस्ताव ल्याएपछि बैठक बहिस्कार गर्नु परेको नेता महतले बताए ।

कांग्रेसको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल यही फागुनमा पूरा हुँदैछ । फागुनमा महाधिवेशन सम्भव नभएकाले पौडेल समूह पनि केही समय म्याद थप गर्न तयार छ ।

तर सभापति देउवाले डेढ वर्ष कार्यकाल लम्ब्याउने संकेत गरेपछि नेताहरु असन्तुष्ट छन् ।

केन्द्रीय विभाग ४१ बनाउने देउवाको प्रस्ताव

बहिस्कारका बाबजुद बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय विभागहरुको संरचनात्मक र संख्यात्मक परिमार्जन सम्बन्धी प्रस्ताव पेश भएको छ । जसमा विभागको संख्या ४१ पुर्‍याउन प्रस्ताव गरिएको छ ।

बैठकमा नेपाल तरुण दलको समयावधि ६ महिना थप गर्ने प्रस्ताव पनि पेश भएको छ । अर्को बैठक २९ गते बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?