
१६ माघ, काठमाडौं । काठमाडौंस्थित ताहाचाल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यालय सचिव सन्तोष घिमिरेलाई चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकालेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
भोजपुरको षडानन्द गाउँपालिका-११ घर भई हाल काठमाडौंको दक्षिणकाली नगरपालिका-६ बस्ने ५६ वर्षीय घिमिरेलाई हस्ताक्षर भइसकेको चेकमा अंक र अक्षर थप गरेर बैंकबाट रकम निकालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
सिदार्थ बैंक कुलेश्वर शाखाबाट पुस ९ गते जारी भएको चेक नं. ००२१४२२५५३१८०१ मा ६७ हजार ९ सय १६ रुपैयाँलाई अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाई उनले रकम निकालेका थिए ।
कार्यालय प्रयोजनका लागि जारी भएको चेकमा किर्ते गरी बढी रकम निकालेर उनी फरार भएका थिए । उनी फरार भएसँगै आवास व्यवस्थापन समाजले उनीविरुद्ध कालीमाटी वृत्तमा उजुरी दिएको थियो ।
उजुरीको आधारमा कालीमाटी वृत्तको टोलीले उनलाई बुधबार बल्खुबाट पक्राउ गरेको थियो । घिमिरे पक्राउ परेसँगै प्रहरीले उनको डेरामा खानतलासी गर्दा कोठामा लुकाएर राखेको अवस्थामा १८ लाख रुपैयाँ समेत बरामद गरेको थियो ।
घिमिरेलाई नियन्त्रण राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4