२८, माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा माघ महिनामा मात्रै ६ वटा एकसिंगे गैडा मरेको छ ।
साउनदेखि माघसम्म १६ वटा गैंडा मरेकामा माघमा मात्र ६ वटाको मरेको हो । एउटा गैंडा करेन्ट लागेर मरेको बाहेक बाँकी गैंडा प्राकृतिक कारणबाट मरेको निकुञ्जको भनाइ छ । गत आर्थिक बर्षमा ४३ वटा गैंडाको मृत्यु भएकामा प्राकृतिक कारणले २६ वटा मरेको थियो ।
धेरै गैंडा प्राकृतिक कारणले मरेको भए पनि संख्या भने अस्वाभाविक भएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेती बताउँछन् ।
निकुञ्जका अनुसार अधिकांश गैंडाको मृत्युको कारण थाहा भएको छैन । गैंडा जुधेर, बुढो भएर, करेन्ट लागेर, दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, संक्रमण भएर, गोहीले हानेर पनि गैंडा मर्ने गरेको रिर्पोट निकुञ्जले तयार गर्दै आएको छ ।
गैंडा होटलको सेफ्टी ट्याङ्कीमा समेत खसेर मरेको पाइएको छ । जगतपुरको होटल टाइगर ल्याण्डको सेफ्टी ट्यांकीमा एक गैंडा खसेर मरेको थियो । चोरी शिकारीको कारणबाट भने चार बर्षयता गैंडा नमरेको निकुञ्जको दावी छ ।
निकुञ्जमा चोरी सिकार झन्डै झण्डै नियन्त्रणमा आए पनि बासस्थान क्षयीकरण मुख्य चुनौती बन्दै गएको छ । सिमसार र घाँसे मैदान व्यवस्थापनमा ध्यान नदिँदा बर्सेनी गैंडाको अप्राकृतिक मृत्युदर पनि बढिरहेको संरक्षणकर्मी बताउँछन् । पानीका घोल नहुँदा, ओहोरदोहोर गर्ने बाटो सहज नहुँदा पनि समस्या हुने गरेको छ ।
२०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले एउटा गैंडा मारेका थिए । त्यसयता तस्करबाट गैंडा मारिएको छैन ।
कसरी मरे गैंडा ?
चालु आर्थिक बर्षको साउन र मंसिर बाहेक सबै महिनामा गैंडा मरेको छ । सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको भदौ ११ गते पोथी गैंडा बुढो भएर मरेको थियो ।
त्यसपछि असोज ५ गते भाले गैंडा बुढो भएर, कात्तिक १ गते मरेर कुहिसकेको अवस्थामा गैंडा भेटिएको थियो । त्यसलाई निकुञ्जले प्राकृतिक कारण मानेको छ । कात्तिक १० गते पोथी गैंडा मृत भेटिएको थियो ।
सोही दिन भाले गैंडा तोरीजन्य घाँस प्रजातिमा पाइने विषादीका कारण मरेको अवस्थामा भेटिएको थियो । सो गैंडाको आमाशयमा आन्तरिक रक्तस्राव भएको पोष्टमार्टम रिपोर्टमा देखिएको छ ।
पुस २ गते भाले बयस्क गैंडा राष्ट्रिय वन क्षेत्रमा जिब्रो कालो भएर डढेको अवस्थामा भेटियो । पुस २० गते भाले किशोर गैंडा नवलपरासीको अमलटारीमा करेन्ट लागेर मरेको पाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत उप्रेतीले बताए ।
पुस २५ गते पोथी वयस्क गैंडा दलदलमा भाँसिएर मृत अवस्थामा भेटियो । पुस २८ गते पोथी गैंडा शरिरभरि चोट लागेर मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । यस्तै माघ ९ गते पोथी गैंडा मृत अवस्थामा फेला प¥यो । माघ १४ गते दुई पोथी वयस्क गैंडा अलग अलग ठाँउमा मृत अवस्थामा भेटिए ।
निकुञ्जले एउटा बुढो भएर मरेको बताए पनि अर्को गैंडा बिषाक्त घाँस खाएर मरेको निकुञ्जको दावी छ । माघ १८ गते भाले बयस्क गैंडा चोटपटकबाट घाइते भएको अवस्थामा भेटिएको र उपचारको क्रममा मरेको अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत उप्रेतीले बताए ।
माघ २२ गते मरेर सडिसकेको गैंडा फेला प¥यो । त्यसको लिंग पहिचान भएको छैन । माघ २४ गते ६ महिनाको पोथी गैंडा शरीरभरी घाउचोट लागेको अवस्थामा मृत भेटिएको निकुञ्जले जनाएको छ ।
यस बर्ष गैंडा गणना गरिने
पछिल्लो पटक सन् २०१५ (२०७१) मा गरिएको गैंडा गणनामा पर्सादेखि शुक्लाफाँटासम्मका चारवटा निकुञ्जमा ६४५ गैंडा भेटिएका थिए । गणनामा चितवन निकुञ्जमा सबभन्दा बढी ६०५ गैंडा पाइएको थियो ।
हरेक चार बर्षमा गैंडा गणना गर्ने भनिए पनि गत बर्ष बजेटको अभावमा गैंडा गणना गरिएन । बजेटको अभाव देखाउँदै गणना नभएको हो । चालु आर्थिक बर्षमा भने गैंडा गणना गरिने विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।
सरकारले गैंडा गणनाका लागि यस बर्ष १ करोड १० लाख रकम विनियोजन गरेको छ । आगामी मार्च अप्रिलमा गैंडा गणनाको तालिका बनाइएको छ । गैंडा गणनाका लागि एक महिना लाग्ने उपमहानिर्देशक कँडेलले जानकारी दिए ।
नेपालमा सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना गरिएको थियो । गणना अनुसार सन् सन् १९९४ मा ४ सय ६६ वटा, सन् २००० मा ५ सय ४४ वटा, सन् २००५ मा ३ सय ७२ वटा, सन् २००८ मा ४०८ वटा र सन् २०११ मा ५ सय ३ वटा गैंडा भेटिएका थिए ।
सन् २०१५ मा गरिएको गणनापछि सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा चितवनका गैंडा स्थानान्तरण गरिएको थियो । छिमेकी देश चीनलाई चारवटा गैंडा दिइएको छ । चीनलाई उपहार स्वरूप दिएको एक गैंडा पनि मरिसकेको छ ।