काठमाडौं ।आगामी चैत दोस्रो साता बङ्गलादेशमा हुने भनिएको एशियन भलिबल कन्फडेरेशन (एभिसी) ‘सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता’ छ महिना पछाडि सरेको छ ।
तियोगिता अब आगामी भदौ तेस्रो साता हुने भएको छ । आयोजक बङ्गलादेश भलिबल सङ्घले कोरोना भाइरसका कारण खेलको मिति परिवर्तन गरेको बताइएको छ । प्रतियोगिताको समय परिवर्तन भएपछि हाल सञ्चालित बन्द प्रशिक्षण स्थगित गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । ‘हाललाई बन्द प्रशिक्षण स्थगित गरेका छौँ, आर्थिक अवस्थाका कारण लामो समयसम्म प्रशिक्षण सञ्चालन गर्न सकिँदैन’, उनले भने ।
सङ्घले आइतबारदेखि शुरु हुने बन्द प्रशिक्षणका लागि १८ खेलाडीलाई बोलाएको थियो । १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा खेलेका १३ खेलाडी तथा अन्य पाँच खेलाडीसहित प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।
सेन्ट्रल जोन भलिबलका लागि इम राना (कप्तान), विनोद चन्द, नरेन्द्र गिरी, राजेन्द्र विष्ट, धनबहादुर भट्ट, टेकराज अवस्थी, दीपकराज जोशी, ईश्वर थापामगर, विशाल विक, हरि अधिकारी, हरिहजुर थापा, शरण क्षेत्री, दुर्गा खड्का, द्वारिका थापा, राजु शेरचन, दुर्गा महतो, दीपक राज र कुलबहादुर थापालाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको थियो ।
उनकाअनुसार प्रतियोगिताको दुई महिनाअघि पुनः बन्द प्रशिक्षणको आयोजना गरिनेछ ।
प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, अफगानिस्तान, तुर्किमिनिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, मालदिभ्सलगायत देशको सहभागिता रहनेछ ।
प्रतिक्रिया 4