
५ फागुन, हेटौंडा । बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुँयाल नियुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएपछि फुँयालको शपथ आजै (सोमबार) साँझका लागि तय गरिएको छ ।
यसअघि नै मन्त्री बन्ने चर्चामा रहेका फुयाँलको माघ २९ गते शपथ हुने भनिए पनि आन्तरिक समस्याका कारण रोकिएको थियो । सामाजिक विकासमन्त्री युवराज दुलालले पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा आफू रहन तयार रहेको भन्दै लविङ गरेपछि गत महिनाको २९ गते नै हुने भनिएको शपथ रोकिएको थियो ।
मन्त्रीमा नियुक्त भएका फुँयाललाई सोमबार साँझ पाँच बजे प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईंले शपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मन्त्री फुँयालको सपथ ग्रहणका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेश प्रमुखको कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री कार्यालयले सबै तयारी पूरा गरिसकेका छन् ।
मुख्यमन्त्रीले समाल्दै आएको मन्त्रालय फुँयालले सम्हाल्ने भएपछि सोमबार नै भौतिक पूर्वाधार मन्त्रालयमा १२ बजेसम्म बसेर बाँकी रहेका सबै काम मुख्यमन्त्री डोरमणि पौडेलले मिलाइसकेका छन् ।
फुँयालले सोमबार शपथ खाए पनि मंगलबार मात्रै पदभारग्रहण गर्ने बताइएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त हुनुभएका फुँयालका लागि झण्डावाला गाडी तयारी अवस्थामा राखिएको छ ।
फुयाँललाई मन्त्री हुने पक्का भएपछि हिजो काठमाडौंबाट हेटौंडा आएका छन् । पार्टीका केन्द्र र प्रदेशका नेताहरुसँगको लामो परामर्शपछि मुख्यमन्त्री पौडेलले प्रदेशको सबैभन्दा ठूलो मन्त्रालय जिम्मा फुँयाललाई लगाएका हुन् ।
उनी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली निकट मानिन्छन् । काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित भएका फुँयाल यसअघि संविधानसभाका सदस्यसमेत भैसकेका छन् ।
बागमती प्रदेश संसदका नेकपाका प्रमुख सचेतकसमेत रहेका फुँयाल लामो राजनीतिक यात्रापछि मन्त्री प्रदेश मन्त्री सफल भएका हुन् ।
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले बर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको जिम्मा फुँयालले पाएका हुन् ।
प्रतिक्रिया 4