+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

राष्ट्रियसभाबाट १८ सांसदको विदाइ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते १७:४०
तस्वीर : रासस

२० फागुन, काठमाडौं । राष्ट्रियसभाबाट विदाई भएका सांसदहरुले राष्ट्रियभालाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिएका छन् ।

आफ्नो २ बर्षे कार्यकालको समय सकिएका सांसदहरुले आफ्ना अनुभव राख्दै सभालाई थप जिम्मेवार भएर अघि बढ्न शुभकामना दिएका हुन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्तव्य राख्दै उनीहरुले सरकारलाई थप जिम्मेवार बन्दै जनताको सवालमा खरो उत्रिन, भ्रष्टाचार न्यूनीकरण गरि शुसासन कायम गर्न तथा समग्र रुपमा जनताको सवाललाई आत्मसाथ गर्न आग्रह गरे ।

अध्यक्ष गणेश तिमिल्सिनाले २ वर्षे पदावधि कायम भएका सांसदलाई यस अवधिमा पु¥याएका योगदानका लागि धन्यवाद दिए । ‘यहाँहरुको अथक मेहनत र प्रयासबाट राष्ट्रियसभाले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ’ उनले भने ।

नेकपा संसदीय दलका नेता दीननाथ शर्माले राष्ट्रियसभाबाट विपक्षी दलका नेता र प्रमुख सचेतक विदाइ हुन लागेकोमा दुख लागेको बताए । उनले अहिले विदाइ भएकाहरु आगामी २ वर्षमा हुने निर्वाचनबाट पुन निर्वाचित भएर आउन सक्ने भन्दै शुभकामना दिए ।

राष्ट्रियसभा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले आफूले दुई वर्षको अवधिमा विपक्षी दलको नेता हुँ भन्ने महसुस गर्न नपरेको बताए । राष्ट्रियसभा अध्यक्ष, सत्तारुढ र अन्य दलका सांसद र कर्मचारीबाट राम्रो सहयोग पाएको उनको भनाइ थियो ।

सुरु सुरुमा राष्ट्रियसभालाई सञ्चार माध्यमले पनि बेवास्ता गरेको भन्दै पाण्डेले पछिल्लो समय राष्ट्रियसभामा बोलेका र उठेका विषयले पनि महत्व पाउन थालेको बताए । नेता पाण्डेले सत्तारुढ दल नेकपा र सरकारलाई लोकतान्त्रिक प्रणालीको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेयले प्रविधिको प्रयोग, समयमा बैठक सञ्चालन गर्नेलगायत विभिन्न पक्षमा २ बर्षमा राष्ट्रियसभामा राम्रो अभ्यास गरिएको बताए । उनले राष्ट्रियसभा अधिकारको दृष्टिले केही संकुचन भए पनि सिर्जनात्मक र प्रभावकारी ढंगले दलीय आग्रह पूर्वाग्रहबाट मुक्त भएर काम भएको बताए ।

नेकपाका कालीबहादुर मल्लले आफूले राष्ट्रियसभा सदस्य भएर २ बर्षको कार्यकालमा धेरै कुरा सिक्ने अवसर पाएको र ‘प्रमाणपत्र सहित एउटा योग्यता प्राप्त भएको’ अनुभव गरेको बताए ।

‘महाविद्यालयको विद्यार्थी, मैले ज्ञान आर्जन गर्ने थुप्रै मौका मिल्यो र आज म एउटा शिक्षकको रुपमा रिर्टायड हुन खोजिरहेको छु । मलाई त्यो अनुभूति भइरहेको छ’ उनले भने ।

नेपाली कांग्रेसकी राष्ट्रियसभाका लागि प्रमुख सचेतक सरिता प्रसाईले जनताको चाहना र इच्छाअनुसार काम गर्न सरकारलाई आग्रह गरिन् । सिंगो शासन व्यवस्था प्रति निराशा नभई जनतालाई आशा जगाउने गरी काम गर्न शुभकामना दिइन् ।

राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटीले जनता निराश नहुने गरी राम्रोसंग सबै दलहरुलाई मिलेर मुलुक सञ्चालन गर्न आग्रह गरे ।

त्यसैगरी राष्ट्रियसभा सदस्यहरु कमलाकुमारी ओली, खेमराज नेपाली, धनकुमारी खतिवडा, बलराम बास्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार कुवँर, विन्दादेवी आले रानाले पनि विदाइको क्षणमा आफ्ना अनुभव राखेका थिए ।

राष्ट्रियसभाले मंगलबार विदाइ हुने सबै सांसदलाई बोल्न ५ मिनेट समय दिएको थियो ।

मंगलबारदेखि बिदा हुने राष्ट्रियसभा सदस्यहरुमा नेकपाबाट ८, नेपाली कांग्रेसका ६ , राजपाका २, समाजवादी पार्टी नेपालका १ र राष्ट्रपतिबाट मनोनित एक जना गरी १८ रहेका छन् । दुई बर्षे कार्यकाल भएका कांग्रेसकासांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?