+
+

कोरोनाविरुद्ध हिजोको जति सावधानीले नपुग्ने भयो : स्वास्थ्यमन्त्री ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २३ गते १७:२३

२३ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमणबाट जोगिन विगतमा भन्दा अझै धेरै सावधानी अपनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले धेरै देशमा संक्रमण फैलिएकाले जोखिम उच्च भएको बताए ।

‘हिजोको सावधानीले नपुग्ने अवस्थामा पुगेका छौ । हिजो चीनमा मात्रै जोखिम हुँदा जति थियो, यो रोग अमेरिकालगायत अन्य देशहरुमा फैलिएको सन्त्रासबाट दक्षिण कोरिया, जापान, इरान, अरब लगायतका मुलुकहरुको फैलावटले चाहिँ संक्रमणको जोखिमलाई अझै उच्च विन्दुमा पुर्‍याएको छ’ उनले भने ।

भारतमा केही दिनयता संक्रमितको संख्या बढेकाले त्यहाँ आउजाउमा सतर्कता अपनाउनुपर्ने मन्त्री ढकालले बताए । त्यसका लागि भन्सार नाकाबाहेक ३७ वटा स्थानमा चेकजाँच गर्नुपर्छ भन्ने निश्कर्षमा सरकार पुगेको उनले जानकारी गराए ।

मन्त्री ढकालले विभिन्न अस्पतालमा १ सय ५५ वटा आइसोलेटेड वेड निर्माण गरिएको तथा चन्द्रगढी, जनकपुर, भरतपुर, धनगढी विमानस्थलमा शुक्रबारदेखि नै प्लेनमा चढ्नुभन्दा अगाडि चेकजाँच गर्ने व्यवस्था गरेको जानकारी गराए ।

नेपालमा संकट सुरु हुनुभन्दा अगाडि नै तयारी भइरहेको भन्दै ढकालले यसले जोखिमविरुद्ध सफलता हासिल हुने बताए । मन्त्री ढकालले कोरोना भाइरसलाई नपड्किएको एम्बुसको संज्ञा दिए ।

‘नपड्किन्जेल खतरै छैन जस्तो देखिन्छ तर तपाई हाम्रै छेउमा छ कि परिवारमै छ कि ? छिमेकीमा छ कि ? कहाँ आइपुग्यो भन्ने कुराको कुनै अनुमान नभएको तर पड्किदाखेरी बल्ल थाहा हुने यो खालको स्थिति भएको हुनाले हामीले सावधानीका कुरालाई चाही त्यही ढंगले नै अपनाउनुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?