+
+

कञ्चनपुरबाट ६ घण्टामा १३ हजार नेपाल भित्रिए (फोटो फिचर)

मुख्यमन्त्रीले गरे स्थलगत अवलोकन

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७६ चैत ८ गते १३:१६

८ चैत, कैलाली । भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपालीहरू घर फर्किने क्रम ह्वात्तै बढेको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट शनिबार मात्रै ६ घण्टामा १३ हजार मानिस नेपाल छिरेका छन् । नेपाल प्रवेश गर्नेमा केही भारतीय नागरिकसमेत छन् ।

भारतमा कोरानाको संक्रमण फैलिन थालेसँगै रोजगारी बन्द हुन थालेपछि संक्रमणबाट जोगिन नेपालीहरु धमाधम घर फर्किन थालेका हुन् ।

कञ्चनपुरको गड्डाचौकी नाका भएर ६ घण्टामा १३ हजार भन्दा बढी नेपाली घर फर्किएको क्वारेन्टाइनले जनाएको छ । शनिबार बिहान हजारौँको संख्यामा नेपालीहरू घर फकिँदा सीमामा रहेको हेल्थ डेस्कका कर्मचारीहरुलाई सम्हाल्नै गाह्रो परिरहेको छ  ।

शनिबार बिहान भारतबाट फर्किनेको भीडले गड्डाचौकी नाकामा सवारी साधन ठप्प भएका थिए । बिहान ६ बजेदेखि ११ बजेसम्म करिब १३ हजार मानिस नेपाल प्रवेश गरेका हुन् । नेपालीसँगै केही भारतीयहरू पनि नेपाल प्रवेश गरिरहेका छन् ।

सुदूरपश्चिमहरूको महत्त्वपूर्ण चाड बिसु आउन तीनसाता बाँकी रहँदा भारतमा रहेका सुदूरपश्चिमेलीहरु कोरोनाको त्रासका कारण पहिले नै नेपाल भित्रिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबारदेखि गड्डाचौकी बाहेकका अन्य साना नाकाहरू बन्द गरेको जनाएको छ । गड्डाचौकीबाट पनि भारत नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।

‘भारतमा भयावह अवस्था सिर्जना हुन थालेको भन्दै नेपालीहरू फर्किन थालेका हुन्’ खतिवडाले भने, ‘आजमात्रै हजारौँ नेपाली घर फर्किएका छन् ।’

भारतबाट आएका सबैको नाम र ठेगाना संकलनको काम भइरहेको प्रजिअले बताए । ‘भारतमा त्रास छ । उद्योग कलकारखाना सबै बन्द भए’ उनी भन्छन्,  ‘बेरोजगार भएपछि घर फर्किनुपर्ने अवस्था थियो, त्यसमाथि कोरोनाको त्रासले सबै फर्किन बाध्य भए ।’

प्रजिअ खतिवडाले शंकास्पद देखिएका व्यक्तिलाई भने उपचारका लागि क्वारेन्टाइनमा पठाइने बताए ।

अहिलेसम्म भारतका २२ राज्यमा कोरोना फैलिएको छ ।

सुदूरपश्चिम प्रदेशका हजारौँ नागरिक रोजगारीका लागि गड्डाचौकी, र गौरिफन्टाको सीमा हुँदै भारत जाने गर्दछन् । भारतको नयाँ दिल्लीसँग छोटो रुट हुने भएकाले अधिकांश नेपाली गड्डाचौकी बनबासा हुँदै जाने गर्दछन् ।

सुदूरपश्चिमबाट अधिकांश भारतको नयाँ दिल्ली, देहरादुन, बैंङलोर, सिमला मुम्बई लगायतका स्थानमा रोजगारीका गर्ने गरेका छन् ।

उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरसका संक्रमित भेटिएपछि त्यहाँ रहेका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका हुन् ।

भारतबाट हजारौँ नागरिक आउँदा कोरोनाको संक्रमण पनि फैलने खतरा बढेको छ । सीमामा ज्वरो नाप्नेबाहेक अन्य उपाय नरहेको सुरक्षा सम्वद्ध अधिकारीहरु बताउँछन् ।

भारतबाट धमाधम मानिसहरुको भीड लाग्न थालेपछि स्थानीयबासीमा कोरोनाको त्रास बढेको छ ।

मुख्यमन्त्रीले गरे अवलोकन

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार बिहान कञ्चनपुरको गड्डाचौकी नाका र महेन्द्रनगरस्थित क्वारेन्टाइनस्थलको अवलोकन गरेका छन् ।

बिहान कञ्चनपुर पुगेका मुख्यमन्त्री भट्टले भारतबाट हजारौँको संख्यामा भित्रिएका नेपालीहरू र त्यहाँ राखिएका हेल्पडेक्सको अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सीमा नाकामा गर्नुपर्ने स्वास्थ्य प्रवर्द्धनमा प्रदेश सरकार पछाडि नहट्ने बताए ।

‘महामारीको रूप लिएको कोरोनाको संक्रमण फैलिन नदिन प्रदेशले गर्नुपर्ने स्वास्थ्य प्रवद्र्धनमा सरकार लागि परेको छ, अहिले हामीसँग भएकै स्रोत साधनलाई प्रयोग गरेका छौँ,’ मुख्यमन्त्री भट्टले भने, ‘अन्य अपुग सामाग्रीका लागि संघ सरकारसँग माग गरेका छौँ, यसमा प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन ।’

मुख्यमन्त्री भट्टसँगै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले पनि स्थलगत अवलोकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?