१० चैत, काठमाडौं । नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । कोरोनाको पछिल्लो अपडेट नजिकबाट नियालिरहेका अधिकांश जनस्वास्थ्य विज्ञहरु यतिबेला भनिरहेका छन्, ‘अब पनि सरकारको लापरवाही दोहोरियो भने यसको परिणाम हामीले सोचेभन्दा भयानक हुन्छ ।’
जनस्वास्थ्य विज्ञहरुले सरकारलाई लापरवाही नगर्न चेतावनी दिइरहँदा जताततै सरकारको अपुरो तयारी छरपस्ट भएको छ । त्यसमध्ये एक हो, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) को अभाव ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्वास्थ्यकर्मीलाई दिएको उपचारको गाइडलाइनमा पीपीईलाई पहिलो र अनिवार्य शर्त भनिएको छ । पीपीईविना उपचार गर्नु घातक रहेको भन्दै डब्लुएचओले चिकित्सकहरुलाई सचेत रहन चेतावनी दिएको छ ।
तर स्वास्थ्य मन्त्रालयले अझैसम्म पीपीई जोहो गर्न सकेको छैन । जसका कारण कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सकहरुमा मनोवैज्ञानिक त्रास बढेको छ ।
हामीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई सोध्यौं- ‘स्वास्थ्यकर्मीलाई चाहिने अति आवश्यक सुरक्षा सामग्री पीपीई कति छ ? अस्पताल लगिसकेपछि बिरामीलाई छुट्टै जाँच्ने स्वास्थ्यकर्मी छन् कि छैनन् ? संक्रमणको आशंकामा अस्पताल पुगेकाहरुलाई राख्ने पर्याप्त क्वारेण्टाइनस्थल छन् त ?’
देवकोटाले पुरानै जवाफ दोहोर्याए, ‘केही कामहरु भए, केही हुँदैछन्, केही निर्णय हुन बाँकी छ । हामी अहिले प्रकियामा छौं ।’
के-कति काम भए भन्ने बारेमा भने स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुसँग फरक-फरक तथ्यांक छ ।
पीपीई कहिले आउँछ ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार पीपीई नेपालमा नबन्ने र बाहिरबाट मगाउनुपर्ने भएकाले समय लागेको हो । सरकार स्वास्थ्यकर्मीलाई चाहिने जति पीपीई लगायतका सामग्री खरिद गर्ने क्रममा छ ।
स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले सरकारसँग ५ सय थान पीपीई स्टकमा रहेको बताए । पर्याप्त पीपीई कहिलेसम्म आइपुग्छ भन्नेबारे अनविज्ञ रहेका उनी भन्छन्, ‘जहाँ-जहाँ कोरोनाको उपचार हुन्छ, त्यहाँ अबको केही दिनमा पीपीई पर्याप्त पुग्छ, अहिले अन्य अस्पतालले पाउँदैनन् ।’
पीपीई किन्न डेढ महिनाअघि आग्रह
सरकारले पीपीई विश्व बजारमै अभाव भएकाले नल्याउन कठिन रहेको बताइरहँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेसँगै १५ सय पीपीई खरिद गर्न सुझाव दिएको थियो ।
तर, डब्लुएचओले सुझाव दिएको डेढ महिना बित्दा पनि स्वास्थ्य मन्त्रालयले पीपीई खरिद गर्न कुनै जाँगर देखाएन । एक साताअघि स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले पीपीई तथा अतिआवश्यक १७ थरि इक्युप्मेण्टका लागि टेण्डर आहृवान गरेको थियो । तर, एक साता बितिसक्दा कसैले पनि विभागले मागेको सामग्री दिनका लागि टेण्डर हालेको छैन ।
यसले के प्रष्ट पार्छ भने कोरोना संक्रमणको दर बढ्यो भने स्वास्थ्यकर्मीहरुलाई काम गर्न सकसपर्ने निश्चित छ ।
क्वारेन्टाइनमा कति छन् ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकका अनुसार चैत ५ गतेदेखि शनिबार साँझसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मात्र ५० हजार व्यक्तिले सेल्फ क्वारेन्टाइनको फारम भरेका छन् ।
यसको मतलव, गएका चार दिनमा ५० हजारभन्दा बढी नागरिक नेपाल छिरेका छन् ।
तर, चैत ५ गतेदेखि ५० हजार नागरिक विमानस्थलबाट नेपाल छिर्न यो अवस्थामा सम्भव छ त ? महाशाखाका निर्देशक वासुदेव पाण्डे भन्छन्, ‘त्यसैको हाराहारीमा आए होलान् ।’
हामीले अध्यागमन विभागलाई सोध्यौं, ‘५० हजार नेपाली चैत ५ गतेयता विमानस्थलबाट छिरे त ?’
अध्यागमन विभागका अनुसार ५० हजार होइन, १० हजारको हाराहारीमा मानिसहरु विदेशबाट नेपाल छिरेका छन् । चैत १ गतेदेखि ५ गतेसम्म नेपाल छिर्नेको सङ्ख्या ११ हजार ७ सय ५५ मात्र छ ।
यसले के पुष्टि गर्छ भने चैत ५ गतेदेखि यता ५० हजार नागरिक छिरेका छैनन् । तर, जे-जति नागरिकहरु संक्रमण फैलिएको देशबाट छिरे, उनीहरुको तथ्यांक भने सरकारले राख्नुपर्छ ।
सेल्फ क्वारेन्टाइनर्फम भरेकाहरुको निगरानी गर्ने काम स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाको हो । हामीले महाशाखाको निर्देशक वासुदेव पाण्डेलाई सोध्यौँ, ‘५ गतेपछि सेल्फ क्वारेन्टाइनबस्न र्फम भराइएकाहरुको अवस्था के छ ?’
निर्देशक पाण्डेले भने, ‘अहिले जानकारी नै छैन’
उनका अनुसार अहिले फर्म भरेका ५० हजारको विवरण कम्प्युटरमा अध्यावधिक गर्ने मात्र काम भइरहेको छ । अहिले सबैको अवस्थाबारे बुझ्न सम्भव छैन ।
फर्म भरिसकेकाहरुको पनि निगरानी गर्न सकिन्न ? भन्ने प्रश्नमा महाशाखाको निर्देशक पाण्डे भन्छन्, ‘हामीले त्यसका लागि तयारी गरिरहेका छौं ।’
‘तयारी कहिले पूरा हुन्छ ?’ भन्ने प्रश्नमा भने उनको केही जवाफ छैन ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4