
१४ चैत,काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले विभिन्न कारागारमा कैदी जीवन बिताइरहेका जेष्ठ नागरिक र बालसुधार गृहमा रहेका बालबालिकालाई कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन निवेदनका आधारमा रिहा गर्ने प्रक्रिया चलिरहेको बताएका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै महान्यायाधिवक्ता खरेलले कानुनको द्वन्द्वमा परेर कैदीका रुपमा रहेका देशभरका ८ वटा बाल सुधार गृहका करिब ९ सय बालबालिकाहरु हरेको बताए । उनीहरु सबै १८ वर्ष मुनिका छन् । ती मध्ये ९० जनालाई अभिभावकको निवेदनका आधारमा रिहा गरिएको र अरु पनि यही प्रक्रियाबाट रिहा हुने उनले बताए ।
सम्बन्धित जिल्ला अदालतको आदेशबाट गम्भीर प्रकृतिका अपराधमा संलग्न बाहेक अन्य बालबालिकालाई सुधारगृहबाट मुक्त गर्ने निर्णय भइसकेको छ । सोही अनुसार सर्वोच्च अदालतले पनि सम्बन्धित जिल्ला अदालतहरुलाई आदेश दिएको छ ।
महान्यायाधिवक्ता खरेलले जेष्ठ नागरिकसम्बन्धी विशेष ऐन र सर्वोच्च अदालतको आदेशलाई समेत आधार बनाएर ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई पनि जेलमुक्त गर्न भनिएको बताए । कानुनले तोकेको न्यूनतम सजाय काटिसकेका सबै जेष्ठ नागरिकलाई जेलमुक्त गरिने उनले बताए ।
कारागारहरुमा कैदीको संख्या घटाएर संक्रमणको जोखिम कम गर्ने रणनीति अनुरुप महान्यायाधिवक्ता खरेलले गत साता सरोकारवालाको बैठक राखेर जघन्य अपराध र न्यूनतम सजाय भुक्तान गरी नसकेका बाहेक अन्य कैदीलाई रिहा गर्नका लागि सर्वोच्च अदालतलाई समेत आग्रह गरेका थिए ।
खरेलले गम्भीर अपराध बाहेक अन्य सामान्य घटनाका अभियुक्तलाई अहिलेको संक्रमणको जोखिमका बेला पक्राउ गरेर हिरासतमा राख्न भन्दापनि हाँजिरी जमानी वा तारेखमा छाड्न आदेश दिएका छन् । सोही अनुसार सरकारी वकिल र प्रहरीले हिरासतमा भीडभाड नगर्ने नीति अनुरुप काम गरिरहेको उनले बताए ।
खरेलको भिडियो कुराकानी हेर्नुहोस्
प्रतिक्रिया 4