१५ चैत, रामेछाप । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि रामेछाप जिल्लाका आठवटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् ।
छिमेकी मुलुक भारत र अन्य विभिन्न देशहरुबाट आएका ४२ जनालाई जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा राखिएको छ । शुक्रबार साँझसम्म रामेछाप नगरपालिकामा १२ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा ९ जना, गोकुलगंगा गाउँपालिकामा ६ जना र खाँडादेवी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको हो । तीमध्ये ३१ जना घरमा र बाँकी सामुदायिक क्वारेन्टाइनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानीय तहहरुमा आवश्यक पर्दा चिकित्सकहरु गएर उपचार गर्न सक्ने खालका ३७ भन्दा बढी आइसोलेसन कक्षहरु स्थापना भइसकेका छन्। हालसम्म मन्थली नगरपालिकामा २२ वटा, रामेछापमा चार वटा, दोरम्बा गाउँपालिकामा सात वटा र सुनापति गाउँपालिकामा चार वटा आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए ।
सबै स्थानीय तहहरुले सामुदायिक भवन तथा विद्यालय भवनहरुमा क्वारेन्टाइन कक्षहरु निर्माण गरेर शंकास्पद र बाहिरबाट आएका मनिसहरुलाई राख्ने प्रवन्ध मिलाएको रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । स्थानीय तहहरुमा आपतकालीन अवस्थामा चिकित्सक गएर उपचार गर्नेगरी आइसोलेसन कक्ष स्थापनाका कामहरु समेत भइरहेको उनले बताइन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4