+
+

योगेश भट्टराईको टिप्पणी : स्वास्थ्यकर्मीलाई भड्काउन खोजियो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते १३:२४

१५ चैत, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्यकर्मीलाई भड्काउने कोसिस भइरहेको टिप्पणी गरेका छन् ।

मन्त्री भट्टराईले सामाजिक सञ्जालमा ११ बुँदे वक्तव्यमार्फत् कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध सरकारका सबै संयन्त्रहरु परिचालित भएका बेला धमिलो पानीमा जाल थाप्नेहरु सल्बलाएको बताएका हुन् ।

‘स्वार्थी राजनीतिका घिनौना सुँड यत्रतत्र घुसार्ने कोसिस भइरहेको’ भन्दै उनले त्यस्तालाई कामबाटै जवाफ दिइने र जनस्तरबाट भण्डाफोर हुने बताए ।

उनले लेखेका छन्, ‘हाम्रो इतिहास, हाम्रो राजनीति र जनादेशले हामीलाई भागेर होइन । सामना गरेर अघि बढ्दा सफल भइन्छ भन्ने सिकाएको छ । यस्तो अवस्थामा स्वार्थी राजनीतिका घिनौला सुँड यत्रतत्र घुसार्ने कोसिस गरेको देखिन्छ । त्यसलाई कामबाट जवाफ दिइनेछ र जनस्तरबाट त्यसको भण्डाफोर हुनेछ ।’

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कर्मचारीले जोखिम मोलेर काम गरिरहेको र थप हौसलाका लागि सरकारले विभिन्न प्याकेज घोषणा गरेको उनले बताएका छन् । तर, धमिलो पानीमा जाल थाप्नेहरुले भड्काउने कोसिस गरेको भन्दै उनले सबै होसियार बन्नुपर्ने र आफ्नो जिम्मेवारी छाड्न नहुने बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतासमेत रहेका मन्त्री भट्टराईले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको बचाउ गर्दै उपकरण तथा औषधि आपूर्ति र वितरणमा स्वास्थ्यमन्त्रीको अगुवाईमा सरकारी तथा निजी क्षेत्रका सबै निकायहरुले गम्भीरतापूर्वक काम गरिरहेको र छिट्टै सहजता आउने दाबी गरेका छन् ।

‘कहिले को माथि त कहिले को माथि आक्रमण गर्ने गिरोहले अहिले स्वास्थ्यमन्त्रीमाथि आक्रमण सुरु गरेका छन् । उनीहरुको नियत र स्वार्थ सबैले बुझ्नुपर्छ’ उनले भनेका छन्, ‘हामी सबै तोकिएका जिम्मेवारी पूरा गर्दै स्वास्थ्यमन्त्रीको अगुवाईमा स्वास्थ्य मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम सफल पार्न प्रतिबद्ध छौं ।’

मन्त्री भट्टराईले जटिल परिस्थितिमा आपतकालीन शैलीमा काम गर्नु परेकाले केही कमजोरी हुनसक्ने भन्दै त्यस्ता गल्ती सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विश्वकै लागि अस्वाभाविक र अप्रत्याशित महामारीविरुद्धको लडाईंमा सिंगो देश एकजुट हुनुपर्नेसमेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?