१७ चैत, भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गएपछि भक्तपुरमा खाद्यान्न भण्डारण गरिने भएको छ । सरकारले दोस्रो चरणको नाकाबन्दीको समेत मिति तोकेपछि जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुर थिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डारण गर्न लागिएको हो ।
विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको उच्च जोखिमबाट बच्नका लागि सरकारले आगामी २५ गतेसम्मका लागि थप गरेको लकडाउनका अवधि लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन सक्ने देखेर यस्तो तयारी गरिएको बताइएको छ ।
उक्त भवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्नहरु भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारैवटै नगरपालिकामा वितरण गर्नेगरी खाद्यान्न भण्डारण गरिने भएको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेल, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराईसहित संयुक्त सुरक्षा फौजको टोलीले उक्त भवनको अनुगमन गरी खाद्यान्न भण्डारका लागि उपयुक्त रहेको जनाएको थियो ।
दुर्गाप्रसाद न्यौपानेको राधेराधेस्थित प्रयोगविहीन उक्त १७ तले भवन हाल सङ्कटको समयमा प्रयोग गर्न माग गर्दा न्यौपानेले निःशुल्क प्रयोग गर्नेगरी सुरक्षा फौजलाई दिन मञ्जुरी दिएका छन् । भवन प्रयोग गर्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले न्यौपानेलाई पत्राचार गरिसकेको छ ।
खाद्यान्न स्टोर तथा वितरणका लागि प्रयोग गरिने भएपछि नेपाली सेनाको वीरदल गण सूर्यविनायक व्यारेकबाट खटिएका सेनाको टोलीले भवनको सरसफाई गरी तयारी अवस्थामा राखेको वीरदल गणका गणपति शिवप्रसाद पौडेलले जानकारी दिए । यसका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले ५० थान त्रिपाल उपलब्ध गराएको छ । उक्त त्रिपाल ओछ्उने र खाद्यान्न भण्डारणका लागि तयारी अवस्थामा राखिएको छ ।
लकडाउन लम्बिँदै जाँदा खाद्य सामग्रीको अभाव भएमा जिल्लाका चारवटै नगरपालिकासँग समन्वय गरी सम्बन्धित नगरपालिकाको वडा कार्यालयमार्फत् नागरिकलाई खाद्य सामग्री वितरण गर्न सकिने तयारी गर्न लागिएको वीरदल गणका गणपति पौडेलले जानकारी दिए ।
यसअघि २०७२ सालको महाभूकम्पको विपद्मा पनि नेपाली सेनाले विवादरहित रुपमा जनताको सेवामा खटिएको र अहिले स्वास्थ्य सङ्कटका बेलामा पनि खरिपाटीमा क्वारेन्टाइन निर्माणदेखि कोरोना भाइरस नियन्त्रणको अभियानसँगै पीपीई, मास्क, ग्लोभ्स लगायतका सामग्रीको व्यवस्थापनमा नेपाली सेनाको वीरदल गण सक्रिय हुँदैआएको छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4