१७ चैत, टाँडी (मोरङ) । प्रदेश १ को दुईवटा नाकाबाट तीन सातामा करिब दुई लाख मानिस भारतबाट नेपाल भित्रिएको अनुमान छ । सरकारको निर्णय भए अनुसार उनीहरु फर्केर १४ दिन ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने हुन्छ ।
प्रदेश १ का कतिपय स्थानीय तहले क्वारेन्टाइन पनि बनाएका छन् । तर, भारतबाट आएकामध्ये अधिकांश क्वारेन्टाइनमा छैनन् । मोरङको टाँडीस्थित क्वारेन्टाइनमा भने ८६ जना बसेका छन् ।
नेपाली सेनाको सूर्यदल गणमा रहेको क्वारेन्टाइनमा भारतका विभिन्न ठाउँ तथा तेस्रो मुलुकबाट आएकाहरुलाई राखिएको छ । यो क्वारेन्टाइनमा भारतबाट आउनेहरु मध्ये काँकडभिट्टा र विराटनगरको रानी नाका हुँदै नेपाल पसेकाहरुलाई राखिएको छ भने २१ जना दुबई, कतार र मलेसियाबाट फर्किएकाहरुलाई राखिएको छ ।
क्वारेन्टाइन व्यवस्थापनका संयोजक सेनानी प्रवेश दाहालले स्थानीय तह र सीमा नाकाका हेल्थ डेक्सले सिफारिस गरेकाहरुलाई यहाँ राखिएको छ । पूर्वी नाकाबाट स्वदेश पसेका पश्चिम नेपालका मानिस पनि हाम्रो क्वारेन्टाइनमा छन्’, सेनानी दाहालले भने, ‘पाँचथरका एक दम्पती पाँच र छ वर्षका छोराछोरीसहित छन् ।’
क्वारेन्टाइनमा सबभन्दा बढी प्रदेश १ को मोरङ जिल्लाका २४ जना छन् । त्यसपछि खोटाङका १८, तेह्रथुमका १२, सुनसरीका छ, पाँचथरका छ, झापाका दुई, उदयपुरका एक र ताप्लेजुङका जना छन् । त्यस्तै, कैलालीका आठ, सुर्खेतका सात र जाजरकोटका एक जना छन् । १० चैतबाट मानिस राख्न थालिएको यो क्वारेन्टाइनबाट एक भारतीय सहित छ जना घर फर्किएका छन् ।
दुईसय क्षमताको क्वारेन्टाइनस्थलमा सरकारले तोकेको मापदण्डको पूर्ण पालना गरिएको सेनानी दाहालले बताए । ‘क्वारेन्टाइनमा रहेकाहरुलाई सात दिनसम्म बाहिरका कसैले भेट्न पाउनुहुन्न’, उनले भने, ‘अत्यावश्यक काम परे स्वास्थ्यकर्मीको निगरानीमा सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाएर मात्र भेट्ने हो ।’
क्वारेन्टाइनमा रहेकाहरुका लागि सेनाले बिहान सात बजे चिया–खाजा साढे ११ बजे खाना, साढे दुई बजे चिया–खाजा र बेलुका सात बजे खानाको व्यवस्था गरेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4