
२५ चैत, काठमाडौं । उपत्याकामा खसीको मासुको मूल्यमा भएको मनपरी भाउमा आफ्नो कुनै संलग्नता नभएको मासु व्यवसायी संघले दाबी गरेको छ ।
लकडाउनका कारण उपत्याकामा खसीको कारोबार पूर्ण रुपमा बन्द रहेको संघका महासचिव चित्यप्रसाद साहीले बताए । ‘लकडाउनपछि सबै पसल बन्द छ, हामीले खसी र मासुको कुनै भाउ नै तोकेका छैनौँ,’ उनले भने ।
संघ माताहतका मासु व्यवसायीले लकडाउनका कारण खसी आयात गर्नै नसकेको उनले बताए । काठमाडौंमा दुई हजार रुपैयाँ प्रतिकिलोमा खसीको मासु बिक्रि गरिएकोबारे आफूहरुलाई पनि गुनासो आएको भन्दै उनले त्यसमा माताहतका व्यवसायी संलग्न नभएको दाबी गरे । ‘गाउँबाट खसी ल्याएर टोल तथा केही पसलहरुमा भाग लगाएर महँगोमा मासु बेचीएको हुन सक्छ,’ साहीले भने ।
लकडाउन सुरु हुनुपूर्व काठमाडौंमा खसीको मासुको मूल्य १२ सय रुपैयाँ रहेको संघले जनाएको छ । माछा मासु अत्यावश्यक खाद्य वस्तुहरुको सूचीमा रहे पनि खसी नै नपाएका कारण व्यवसाय ठप्प भएको संघको दाबी छ ।
प्रतिक्रिया 4