Comments Add Comment

घर फर्केका मजदुरलाई चितवनमा निशुल्क खाना

३० चैत, चितवन । चितवनको बढ्दो गर्मी, नारायणगढको पुल्चोक नजिक उत्तरपूर्वी चोकमा पहेलो टिर्सट लगाएका केही युवा टेन्ट टाँगेर बसिरहेका छन् ।

लकडाउनका कारण मानिसहरु घरभित्रै बसिरहेका बेला यी युवालाई भने चैत २३ गतेदेखि नै फुर्सद छैन । राजधानी काठमाडौंसहित पूर्वी जिल्लाहरुबाट पश्चिम र पश्चिमबाट पूर्व हिँडेका मजदुर र विपन्न परिवारलाई खानेकुरा खुवाउन उनीहरु खटिएका छन् ।

बजार क्षेत्रमा लामो पैदल यात्रामा हिँडेको जस्ता कोही देख्नेवित्तिकै उनीहरुलाई बोलाउने, हात धुन लगाउने र खाना खुवाउने गरिरहेका छन् ।

चर्को घाममा धापिएर आएका मजदुर तथा विपन्नले समीको चौतारीको शितल छहारीमा भोको पेट भरिरहेको दृश्यले धेरैको मन छुन्छ ।

चैत ११ गतेदेखि सरकारले कोरोना संक्रमण फैलिन नदिन लकडाउन घोषणा गरेपछि धेरै मानिस कार्यस्थलमा नै रोकिए ।

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका मजदूद अहिले खाद्यान्न जोहो गर्न नसक्दा बरु हिँडेरै गाउँ फर्कन बाध्य छन् । हिजोआज दिनहुँजसो काठमाडौं र पूर्वदेखि पश्चिमका मानिसहरु हिँडेरै गन्तव्यमा जान थालेका छन् । तीन– चार दिन हिँडेर चितवन आइपुगेका मानिसहरु धेरैजसो भोकभोकै भेटिन्छन् ।

हिँडेर चितवन आइपुगेकाहरुलाई निशुल्क खाना खुवाइएको नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष दाताराम घिमिरेले जानकारी दिए । अहिलेसम्म करीव १८ सय यस्ता विपन्न र मजदुरलाई खाना खुवाइएको उनको भनाइ छ ।

‘चैत ११ गतेदेखि २३ गतेसम्म त हामी पनि यत्तिकै घरमा बसिरहेका थियौं, तर जीविकोपार्जन गर्न नसक्ने अवस्था आएपछि बाध्यतावश लामो दूरीमा मजदुरहरु हिँडेको भन्ने खबर थाहा पाएपछि उनीहरुलाई खाना खुवाउने बारे साथीहरुसँग सल्लाह भयो, र सोही अनुसार अघि बढ्यौं’ उनले भने ।

उनले बजार क्षेत्र बन्द भएका कारण पैदल हिँड्नेहरुले खानेकुरा किन्नसमेत नपाएको बताए । नारायणगढमा रहेको वैष्णव मिष्ठान्न भण्डारको भान्सामा खाना बनाएर प्याकिङ गरेर पैदलयात्रीलाई दिने गरिएको छ ।

मञ्चले पुल्चोकमा पैदलयात्रीसँग चितवन मेडिकल कलेजका बिरामी कुरुवा, चौबिसकोठी, आँपटारी, गैँडाकोटलगायतका क्षेत्रमा खानाको अभाव भोगिरहेकालाई खाना खुवाउँदै आएको छ । कतैबाट मजदुर आएको सूचना आएपछि उनीहरु भएकै ठाँउमा पुगेर प्याकिङ खाना खुवाउने गरिएको छ ।

बिहान–बेलुका दाल, भात, तरकारी र दिउँसो बिरियानी खुवाउने गरिएको छ । साथमा एक बोतल पानी पनि दिइन्छ । घिमिरेको भनाइमा सबैभन्दा टाढाको यात्रा झापाबाट बर्दियाका लागि आएका पैदलयात्रीले खाना खाएका छन् ।

युवा उद्यमी मञ्चमा सहभागी ४३ सदस्यले आफूआफूले रकम उठाएर खाना खुवाउने काम गरेका छन् । हामीले कसैसँग पैसा मागेर यो अभियान चलाएका होइनौं, आफैंले हालेका छौं, यो मानवीय विषय पनि हो, सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेका हौं’ अध्यक्ष घिमिरेले भने ।

नारायणगढको बाटो भएर पश्चिम बर्दिया, जाजरकोट र पूर्वमा झापासम्मका मानिसहरुलाई युवा उद्यमीहरुले खाना खुवाएका छन् ।

आफूहरुले लकडाउनको अवधिभर यसलाई निरन्तरता दिने योजना बनाएको अध्यक्ष घिमिरेले बताए । ‘अब केही दिन यसरी मानिसहरुहरुको ओहोरदोहोर चल्छ होला कतिपय मान्छे गन्तब्यमा पनि पुग्लान् र यो क्रम विस्तारै घट्दै जाने देख्छु’ अभियानका संयोजक कृष्ण सापकोटाले भने ।

निश्चित दूरीमा यसरी अभियानका रूपमा खाना खाजा खुवाउने व्यवस्था गरे घरसम्म पुग्न मजदुरहरुलाई सहज हुने सापकोटाको भनाइ छ । ‘मैले सयौं मान्छेहरुलाई सोधेँ धेरै मजदुर ठेकेदारकोमा काम गर्ने रहेछन्, ठेकेदारले नै वेवास्ता गरेर बस्न खान नदिएपछि मानिसहरू रुँदै घर हिँडेको पाएँ’ संयोजक सापकोटाले भने ‘संकटको बेलामा सहयोग गर्ने मान्छेमा मानवीय संवेदना नै हराएछ ।’

मञ्चका देशभर काठमाडौं, चितवन, बुटवल, विराटनगर, कैलाली, पोखरा र इटहरी गरी सातवटा शाखा छन् । मञ्चका केन्द्रीय अध्यक्ष निकोलस पाण्डे अहिलेको सङ्कटका अवस्थामा सबैले आआफ्नो ठाउँबाट सहयोग पुर्‍याउनुपर्ने बताउँछन् ।

खाना खानेहरुले भने : आत्मैदेखि धन्यवाद 

काठमाडौंबाट भोकै नारायणगढ आइपुगेका रामप्रसाद चौधरीको गन्तब्य बर्दिया हो । उनी भोकले हैरान थिए । नारायणगढ बजारमा आए पछि नेपाली युवा उद्यमी मञ्चले सुरु गरेको निशुल्क खाना खुवाउने स्टेशनमा आएर हातमुख धोए । एक बोतल पानी समाए ।

पेटभरी खाए । यहाँ आएर खान पाउँदा उनले ज्यान नै फूर्तिलो बनेको बताए । उनीसँगै अन्य केही मजदुर पनि थिए । खाना खुवाएकोमा आयोजक सबैलाई भने ‘आत्मैदेखि धन्यवाद छ लौ गएम हैं ।’

चौधरीभन्दा केही पछि आएका कमलराज परियारको गन्तव्य हो, कालिकोट । उनी हिँडेरै कालिकोट पुग्ने आँट लिएर नारायणगढसम्म आएका थिए । विहानैदेखि भोकले रन्थनिएका परियारले यहाँ आएर खाना खान पाउँदा औधी खुसी लागेको बताए । काठमाडौंमा घर बनाउने काम गर्ने परियारले भने ‘काठमाडौंमा कोही छैन, कसैलाई मतलव छैन, यहाँ त मन भएका मान्छे रहेछन्, भोको पेट भरिदिने सबैलाई धन्यवाद दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment