Comments Add Comment

लकडाउन खुले पनि दशैंअघि सौराहाका होटल नखुल्ने

फाइल तस्वीर

२१ वैशाख, चितवन । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् ।

पारिवारिकतवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैंमा मात्र खोल्ने तयारी गरिएको छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार, होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् ।

“लकडाउनपछि तत्काल विदेशी पर्यटक आउने कुरा भएन, स्वदेशी पनि खासै आउँदैनन्,” उनले भने ।

होटल खुलेपछि दैनिक सञ्चालन खर्च धेरै हुने तर पर्यटक नआउने भएकाले तत्काल होटल सञ्चालन नगरिने उनले जानकारी दिए ।

संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार, जेठको पहिलो साताबाट भदौ अन्तिमसम्मको समय अरू बेलामा पनि पर्यटक नआउने समय हो । त्यसपछिको समयमा हिमाल चढ्नका लागि विदेशी पर्यटक आउने भए पनि यस वर्ष त्यो सम्भावना न्यून छ। दशैंताका आन्तरिक पर्यटक आउने भएकाले सोही समयमा होटल खोल्ने तयारी गरिएको छ ।

दुई–चार पाहुनाका लागि होटल खोल्दा सञ्चालन खर्च बढी हुने भएकाले त्यो सम्भावना नरहेको घिमिरे बताउँछन् । होटल व्यवसायीले चैत महिनासम्मको तलब दिएर कर्मचारीलाई बिदा दिएका छन् । अब के गर्ने भन्ने विषयमा केन्द्रीय हानको निर्णयको पर्खाइमा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

चितवन र नवलपरासीमा १५० पर्यटकीय होटल छन् । ती होटलमा पाँच हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत छन् । भट्टराईका अनुसार ती होटलमा रु १९ अर्ब ५० करोडभन्दा बढी बैंकिङ ऋण रहेको छ । होटल खुलेको कम्तीमा एक वर्ष ऋणको किस्ता र ब्याज बुझाउन नसकिने भन्दै उनले पुनःकर्जा दिएर व्यवसाय सञ्चालन गर्न सहयोग गर्नुपर्ने बताए ।

कृषिसरह ब्याजमा सहुलियत दिनुपर्ने माग अघि सारेको भट्टराईले जानकारी दिए ।

यता, मेघौलीको साराङ वाइल्ड लाइफ सेन्चुरीका सञ्चालक सुवोध प्रधानले भने लकडाउन खुलेपछि होटल सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । थोरै कर्मचारीबाट सेवासुविधा दिने गरी होटल खोल्ने तयारी आफूले गरेको उनले बताए । लकडाउनले घरमा बस्दा वाक्क भएका आन्तरिक पर्यटक आउने उनको अनुमान छ । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्रका दुर्लभ वन्यजन्तु, थारू संस्कृति, डुङ्गा शयरका लागि स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment