२३ वैशाख, वीरगञ्ज । कोभिड १९ अस्पताल घोषणा भएपछि नारायणी अस्पतालको जेनरल सेवा ठप्प छ । प्रदेश नं २ मा हालसम्म भेटिएका कोभिड–१९ संक्रमितको उपचार नारायणीमै भइरहेको छ । डिस्चार्ज भएर फिर्ता ल्याइएका २ जनासहित ११ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । दुईजना निको भएर घर फर्किसकेका छन् । नारायणीको विकल्पमा नेशनल मेडिकललाई सेवा दिन सरकारले भनेको छ ।
कोरोना संक्रमितको उपचार चलिरहेको बेला विभिन्न क्षेत्रबाट नारायणीमा अन्य सेवा सुचारु गर्नुपर्ने भन्दै दबाव आइरहेको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको एक पक्षले प्रदर्शन नै गरिसकेको छ । चार राजनीतिक दलसहित महानगरपालिकाले स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् भने नेपाल चिकित्सक संघ नारायणी शाखाले पनि मेडिकल सुपरिटेन्डेन्टको ध्यानाकर्षण गराइसकेको छ । पर्सा, बारा, रौतहट, सर्लाहीसम्मका गरिब जनताको उपचारका थलो नारायणीमा जनरल सेवा बन्द गर्दा सर्वसाधरण मर्कामा परेको उनीहरुको निष्कर्ष छ ।
सरकारले नारायणी अस्पताललाई लेभल २ कोरोना अस्पताल घोषणा गर्नुभन्दा अघिदेखि नै संक्रमितको उपचार भइरहेको थियो । त्यसबखत कोरोना संक्रमितको उपचारसँगै अन्य सेवा पनि सञ्चालनमा थिए । सरकारले लेभल–२ कोरोना अस्पताल घोषणा गरेपछि भने अन्य सेवा बन्द गरिएका छन् ।
प्रदेश–२ सरकारले कलैयालाई कोरोना अस्पताल घोषणा गरेपनि सञ्चालनमा आउन सकेको छैन । वीरगञ्ज महानगरपालिकाले गण्डक अस्पतालसँग कोरोना विशेष अस्पताल सञ्चालनका लागि सम्झौता गरेपनि स्वास्थ्य मन्त्रालयले स्वीकृत नदिँदा सम्झौतामा मात्रै सिमित छ ।
विभिन्न राजनितिक दल तथा विभिन्न निकायहरुले जेनरल सेवाहरु यथाशिघ्र सुचारु गर्नुपर्ने माग गर्दै आएपनि त्यसको सुनुवाई भईरहेको छैन । यसै क्रममा जनता समाजवादी पार्टीका तीन जना नेताहरुले नारायणीमा जनरल सेवा सुचारु गर्न माग राखेर घरमै धर्ना बसिरहेका छन् । नेता नेजामुद्दिन समानी, ओमप्रकाश सर्राफ, मोनिका सिंह ३ दिनदेखि धर्नामा बसेका हुन् । अस्पतालमा जनरल सेवा सुचारु नभएसम्म धर्ना जारी राख्ने उनीहरुले बताएका छन् । बिहान १० बजेदेखि ११ बजेसम्म उनीहरु धर्नामा बस्ने गरेका छन् । अस्तालमा जेनरल सेवा ठप्प हुँदा सर्वसाधारण समस्यामा परेपछि लकडाउनको पालना गर्दै घरमै धर्नामा बसेर विरोध सुरु गरिएको युवा नेता सर्राफले बताए ।
‘सुरुमा सडकमा प्रदर्शन गर्ने कि भनेर सल्लाह भएको हो, तर लकडाउनमा त्यसो गर्नु उचित हुन्न भन्ने लाग्यो ।’ उनले भने ‘त्यसपछि समानी दाई र म घरमै धर्ना बस्न सुरु गर्यौं ।’ २१ गतेदेखि प्रत्येक दिन घरको गेटमा कालो झण्डा बाँधेर धर्नामा बसिरहेको नेता समानीले बताए । ‘जबसम्म नारायणीमा आम जनताको लागि सम्पूर्ण सेवाहरू सञ्चालन हुदैन तबसम्म ‘घर घरबाट बिरोध’ जारी रहन्छ ।’
नेतृ मोनिका सिंहले गर्भवती महंगो शुल्कमा उपचार गराउने क्षमता नभएका सर्वसाधरण प्रभावित भएपछि अन्य सेवा सुचारु गराउन माग राखेर धर्नामा बसेको बताइन् ।
अभियानमा सहभागी हुनेहरुको संख्या दिनदिनै बढ्दै गइरहेको धर्नामा सहभागीहरुले बताएका छन् । नेकपाका स्थानीय नेता शम्भु गुप्ता, हरेन्द्र पटेल, गौरव सन्तोष पटेल लगायत पनि धर्नामा छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4