
३१ वैशाख, काठमाडौं । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै संघले बंगलादेश, फिलिपिन्स, चीन, अस्ट्रेलिया, भारत, बेलायतलगायतका देशमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीलाई स्वदेश फर्काउन आग्रह गरेको हो ।
बंगलादेशमा अध्ययनरत ५ सय ६४ विद्यार्थीको अवस्था अझै दयनीय रहेकाले गम्भीर बनिदिन संघले भनेको छ ।
त्यसैगरी, अरबियन मुलुकहरूमा रोजगारीका लागि पुगेका नागरिकलाई पनि स्वदेश फर्काउन उसले आग्रह गरेको छ ।
सञ्चारका विभिन्न साधनमार्फत विदेश फर्काउने कार्यमा सहजीकरण गरिदिन आग्रह गरिएको पनि संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विदेशबाट ल्याइएकाहरूलाई एकान्तवास र स्वास्थ्य परीक्षणपश्चात मात्रै घर पठाउन संघले सरकारलाई सुझाएको छ ।
‘अध्ययनको सिलसिलामा गएका विद्यार्थीहरु र रोजगारीका लागि विदेशिएका नागरिकहरुलाई सम्बन्धित देशका शैक्षिक संस्था र रोजगारदाता कम्पनीले आफ्नो देशमा जाउँ भनी दबाव सिर्जना गरेको सम्बन्धमा नेपाल चिकित्सक संघलाई जानकारी प्राप्त भएकाले नेपाल चिकित्सक संघ बिदेशबाट नेपाल फर्कन चाहने विद्यार्थीहरु तथा अन्य रोगगारीका लागि गएकालाई यस आपतकालीन अवस्थामा अविलम्ब स्वदेशमा ल्याई एकान्तवासमा राखी स्वास्थ्य परीक्षणपश्चात् मात्र आफ्नो परिवारजनमा समावेश हुने व्यवस्था मिलाउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ,’ संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4