Comments Add Comment

रुकुममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न माग

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद विमला नेपालीले रुकुममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न माग राखेकी छन् ।

‘कथित माथिल्लो जातको युवतीको प्रेम सम्बन्धका कारण रुकुम पश्चिम चौरजहारी ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले मृत्युको खबरले स्तब्ध बनाएको छ । यो घटनामा ज्यान गुमाउने सबैलाई सामाजिक रुपान्तरणको सहिद घोषणा गरियोस्’ बुधबार प्रतिनिधिसभा बैठकमा उनले भनिन् ।

सांसद नेपालीले संसदीय छानबिन समिति बनाई दोषीहरुलाई हदैसम्मको कारबाही गर्न समेत माग गरेकी छन् ।

कांग्रेसकी सांसद महेन्द्रकुमारी लिम्बुले रुकुम घटनाबारे सर्वदलीय संसदीय छानबिन समिति गठन गर्न माग गरिन् । ‘गृहमन्त्रीलाई अनुरोध– रुकुम घटना निर्मला पन्तको जस्तो ढुस्स नहोस्’ उनले भनिन् ।

सत्तारुढ दल नेकपाकी सांसद यसोदा सुवेदी गुरुङले रुकुम घटनालाई राजनीतिकरण हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गरिन् । ‘अति राजनीतिकरण हुँदा दोषीले सजाय नपाउने र पीडितले न्याय नपाउने हुन सक्छ । यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन् ।

नेकपाकी सांसद मनकुमारी जिसीले रुकुम पश्चिमको जस्तो घटना नदोहोरिने गरी अगाडि बढ्न सरकारलाई आग्रह गरिन् ।

कांग्रेसकी सांसद लक्ष्मी परियारले जातीय विभेद र छवाछुत विरुद्धका संविधान र कानुनी व्यवस्थाको प्रभावकारी कानुन कार्यान्वयन गर्न माग राखिन् ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारीका मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिकाका २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी पक्षको आक्रमणबाट भाग्न भेरी नदीमा हाम फालेका ४ जनाको शव भेटिएको छ । दुई जना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment