१६ जेठ, डोटी । जेठ २ गतेयता डोटी जिल्लामा भारतबाट आएकाहरुको संख्या ५ हजार ७ सय २ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्णवहादुर बोहोराले दिएको जानकारी अनुसार शुक्रबार मात्रै करिब एक हजार जना जिल्ला भित्रिएका छन् । बोहाेराका अनुसार सबैभन्दा बढी शिखर नगरपालिकामा भित्रिएका छन् । यस नगरपालिकामा एक हजार दुई सय ५० जना भित्रिएको र उनीहरु सवैलाई क्वारेन्टिनमा राखिएको बोहोराले वताए ।
यस्तै दिपालल सिलगढी नगरपालिकामा एक हजार दुई सय एक, बोगटान फुड्सिल गाउँपालिकामा ४ सय ८३, पूर्वीचौकी गाउँपालिकामा ३ सय १८, आदर्श गाउँपालिकामा ५ सय १४, केआई सिंह गाउँपालिकामा ९ सय ६९, जोरायल गाउँपालिकामा २ सय १०, सायल गाउँपालिकामा ४ सय ८, बडी केदार गाउँपालिकामा ३ सय ४९ रहेका छन् ।

नेपाली भूमिमा आएका आफ्ना नागरिकहरुलाई सम्वन्धित ठाउँमा पुर्याउन स्थानीय तहहरुले सीमानाका सम्पर्क व्यक्ति तोकेका छन् । सम्पर्क व्यक्तिहरुले आफ्ना पालिकाका मान्छे छान्दै गाडीको व्यवस्था गरी उनीहरुलाई पठाउने गरेका छन् ।
स्थानीयतहका जनप्रतिनिधिहरु र कर्मचारीहरुले भारतबाट आउनेहरुलाई कोरोना भाइरस (कोभिड—१९) को बारेमा जानकारी क्वारेन्टिनमा बस्ने वाचा गर्न लगाउने गरेका छन् ।
जिल्लाका ग्रामिण सडकहरुमा बस जान नसक्ने भएका कारण स्थानीयतहहरुले बढी भाडा तिरेर टिप्पर, ट्याक्टर र जीपमार्फत गाउँ फर्काउने गरेका छन् ।

संघीय सरकारसँग माग गरियो २० हजार किट
जिल्लामा प्रत्येक दिन भारतबाट आउने मानिसकाे संख्या बढ्दाे छ । तर काेराेना परीक्षणका लागि आवश्यक किट अभाव रहेकाे प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय डोटीले संघीय सरकारसँग क्वारेन्टिनमा रहेकाहरुको परीक्षण गर्नका लागि आरटी पीसीआर भीटीएम किट १० हजार र आरडीटी १० हजार गरी २० हजार किट माग गरेको छ ।
प्रजिअ पौडेलका अनुसार भारतबाट आउने क्रम नरोकिएको र जिल्लामा किट अभाव रहेका कारण गृह मन्त्रालयलाई किट उपलब्ध गराउन आग्रह गरिएको हो । ‘जेठ ६ गतेदेखि क्वारेन्टिनमा बसेका व्यक्तिहरु छन्,’ प्र्रजिअ पौडेलले भने, ‘उनीहरुको परीक्षण नगरी घर पठाउने कुरा आएन ।’ दिनहुँ जसो भारतबाट आउनेको संख्या बढ्दै गएका काराण क्वारेन्टिनको समेत अभाव हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भइरहेको उनले बताए ।
यदि समयमै किट उपलव्ध भएन भने उनीहरुलाई बिना परीक्षण घर पठाउनु पर्ने र यसले संक्रमणको जोखिम बढ्ने उनले बताए । उनी भन्छन्, ‘लामो समयसम्म उनीहरुलाई क्वारेन्टिनमा राख्ने हो भने अव आउने व्यक्तिहरुलाई कहाँ लगेर राख्ने भन्ने चिन्ता छ ।’
जिल्लामा अहिले आरटी पीसीआर भीटीएम २ सय ९७ र आरडीटी किट २ सय ४७ थान मात्रै रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी वताउँछन् । आफुहरुले किट उपलव्ध गराउनका लागि प्रदेश सरकारलाई पटक–पटक अनुरोध गरेको तर हालसम्म उपलव्ध नभएको मलासीले वताए ।
जिल्लामा हालसम्म २ हजार ८८ जनाको आरडीटी परीक्षण भएको छ । आरडीटी परीक्षण भएकामध्ये चार जनामा पोेजेटिभ देखिएको थियो । तर पीसीआरमा उनीहरुको नजिता नेगेटिभ आएको छ । यस्तै हालसम्म जिल्लामा तीन सय ९१ जनाको स्वाव संकलन गरिएकोमा ३ सय ६७ जनाको नतिजा नेगेभिट आइसकेको छ । हालसम्म सवैको रिपोट नेगेटिभ आएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4