Comments Add Comment

नागरिकताको ७ वर्षे प्रावधानको विरोधमा प्रदेश २ मा प्रदर्शन

७ असार, जनकपुरधाम । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने राज्य व्यवस्था समितिको प्रस्तावको विरोधमा प्रदेश २ का जिल्लामा आइतबार प्रदर्शन भएको छ ।

नेपाली कांग्रेस, उसका भ्रातृ संगठन तरुण दल, जनता समाजवादी पार्टी तथा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयकविरुद्व प्रदर्शन गरेका छन् । प्रदर्शन गर्दै उनीहरुले उक्त विधेयक समेत जलाएका छन् ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल, जनता समाजवादी पार्टी र जनमत पार्टीका नेता÷कार्यकर्ताले छुट्टाछुट्टै रुपमा प्रदर्शन गरेका छन् ।

वीरगञ्जमा कांग्रेस र समाजवादी पार्टीले पनि छुट्टाछुट्टै रुपमा विदेशी बुहारीलाई ७ बर्षपछि नागरिकता दिने प्रावधानविरुद्व प्रदर्शन गरेका छन् । वीरगञ्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की समेत प्रदर्शनमा सहभागी भइन् ।

बारा सदरमुकाम कलैयामा आयोजित विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादवले नेकपा सरकारले प्रस्ताव गरेको नागरिकता संशोधन विधेयक विदेशी बुहारीलाई दुःख दिने नियतले ल्याएको बताए ।

यादवले विधेयकले विदेशी बुहारीका छोराछोरीलाई पढ्न पाउने नैसर्गिक अधिकारमाथि दमन गर्न खोजेको आरोप लगाए । उनले भारतसंग रहेको रोटीबेटीको सम्बन्धलाई बिगार्दै कोरोना महामारीमा १० अर्बको हिसाब किताब सार्वजनिक नगरी भ्रष्टाचार गरेको आरोप समेत लगाए ।

सप्तरी सदरमुकाम राजविराजमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै प्रदर्शन गरेको छ । दुबै पार्टीका नेता/कार्यकर्ताले प्रदर्शन गर्दै स्थानीय जनआन्दोलन चोकमा ७ बर्षे समयावधीको नागरिकता विधेयकलाई समेत जलाएका थिए । प्रदर्शनमा महिलाहरुको उल्लेख्य सहभागिता थियो ।
यो प्रदेशका आठ वटै जिल्ला भारतीय सीमासँग जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment