२९ असार, काठमाडौं । काठमाडौंमा विद्युतीय बस चलाइरहेको सुन्दर यातायात प्रालिले मंगलबारबाट सेवा थाल्ने भएको छ । कम्पनीले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि नलिने घोषणा गरेको छ ।
सुन्दरका ४ वटा बसले दुई वटा रुटमा सेवा दिने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । उनका अनुसार कम्पनीले पुरानै भाडादरमा सेवा सञ्चालन गर्नेछ । संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर बस चलाउन लागिएकाले बढी भाडा नलिने निर्णय भएको थापाले जानकारी दिए ।
सूर्यविनायक-रत्नपार्क र चक्रपथमा सुन्दरका दुई-दुई वटा विद्युतीय बसले सेवा दिने थापाले जानकारी दिए । ‘सरकारले तोकेका सबै मापदण्ड पालना गर्छौं,’ थापाले भने,’यात्रुलाई बसमा प्रवेश गराउनुअघि ज्वरो नाप्ने व्यवस्था पनि गर्छौं ।’
बस चढ्ने ज्येष्ठ नागरिकलाई निःशुल्क मास्क पनि वितरण गरिने थापाले जानकारी दिए । उनका अनुसार बस चढ्नेहरुलाई मास्क अनिवार्य गरिएपनि ज्येष्ठ नागरिकलाई सहयोग गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
सोमबारबाट मइुर, संयक्त यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् । यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेपनि अब कम्पनीहरुले निर्णय अवज्ञा गर्न थालेका छन् ।
काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै सवारी चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ ।