१२ साउन, काठमाडौं । असार २० गते भारतबाट परिवारसहित फर्किएका सप्तरीका ७२ वषर्ीय बृद्धको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण २ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो ।
उनको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरेर परीक्षण गर्ने क्रममा परिवारका पाँच सदस्यसहित ७ जनामा संक्रमण पुष्टि भयो । र, त्यो भाइरसको यो चेन ब्रेक गर्दै (साङ्लो तोड्दै) जाने क्रममा सप्तरीमा मात्रै कुल २९ संक्रमित भेटिएका छन् ।
असारको पहिलो साता भारतबाट वीरगञ्ज-२१ परवानीपुरस्थित माइती आएकी १७ बषर्ीया महिलाको कोरोना संक्रमणका कारण साउन ९ मा मृत्यु भयो ।
साउन २ मा पखाला लाग्ने र उल्टी हुने समस्या देखिएपछि एक रात अस्पताल बसेकी उनलाई ७ गते पुनः त्यही समस्या दोहोरिएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल भर्ना गरिएको थियो । आरडीटी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरेर नारायणी अस्पताल पठाइयो । तर, रिपोर्ट नआउँदै उनको निधन भयो । मृत्युपछि कोरोना पुष्टि भएको छ ।
राजविराज र वीरगञ्जको केसमा समानता छ, मृत्यु भएका संक्रमितको ट्राभल हिस्ट्री । दुबै लकडाउन केही खुकुलो भएको समयमा भारतबाट नेपाल आएका हुन् र दुबैले १४ दिन क्वारेन्टिन बस्नुपर्ने मापदण्ड दुबैले पालना गरेनन् ।
राजविराज र वीरगञ्जको अर्को समानता छ, स्थानीय समुदाय संक्रमण भित्रभित्रै फैलिएको छ ।
हुन त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा संक्रमण फैलिएको छैन भन्न छाडेको छैन । सोमबार आयोजित नियमित प्रेस बि्रफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले भने, ‘देशका केही ठाउँमा एकै समयमा धेरै कोरोना संक्रमित भेटिएका छन् । एकै ठाउँमा धेरै संक्रमित भेटिएकाले समुदाय स्तरमा संक्रमण फैलिएको कुरा आएको छ । हालसम्म नेपालमा समुदायमा कोरोना सुमदायमा फैलिएको प्रमाणित भइसकेको छैन ।’
भाइरस फैलावटको वर्गीकरणमा विश्व स्वास्थ्य संगठन -डब्ल्यूएचओ)ले नेपाललाई ठाउँ विशेषमा कोभिड-१९ को केस भएको मुलुकको सूचीमा राखेको उनले बताए ।
तर इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण विभागका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘अस्ति स्वास्थ्य मन्त्रालयमै डब्ल्यूएचओको प्रतिनिधिले भनिसके नि नेपालमा ‘वाइड स्प्रेड’ -ब्यापक) छैन तर, केही ठाउँमा देखिएको छ ।’
अर्थात जिल्लाभन्दा पनि सानो क्षेत्र (नगर वा गाउँं)मा समुदायमा संक्रमण देखिएको छ । डा. मरासिनी भन्छन्, ‘ठाउँठाउँमा समुदायमा संक्रमण देखिएको छ । सरकारले परिपक्वता देखाउने र त्यसअनुसार मेहनत गर्ने हो भने नियन्त्रण गर्न सकिन्छ । भुल्केमा साथीहरुले मेहनत गर्नुभयो र नियन्त्रणमा आयो ।’
वीरगञ्ज, राजविराज, मोरङ लगायतका स्थानमा पनि मेहनत गर्ने हो भने संक्रमण नियन्त्रण गर्न सकिन्छ । तर त्यसअनुसार काम भएको आफूले नपाएको भन्दै डा. मरासिनी भन्छन्, ‘वीरगञ्ज र कलैया जोडियो, कलैया र गौर जोडियो, गौर र मलंगवा जोडियो, मलंगवा र जनकपुर जोडियो, जनकपुर र राजविराज जोडियो भने वुहान भइहाल्यो नि ! त्यो हुने खतरा बढ्यो ।’
गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झा पनि प्रदेश २ जोखिममा रहेको बताउँछन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहभागी सार्वजनिक कार्यक्रममै समुदाय स्तरमा संक्रमण देखिएको दाबी गरेका उनी भन्छन्, ‘आम नागरिक, सरकार सबै जसरी अगाडि बढेका छन्, यसले कसैले थाम्ने नसक्ने अवस्था सृजना गर्ने खतरा छ ।’
एकातिर तराई मधेसमा घनावस्ती छ भने अर्कोतिर आम नागरिकहरुमा सार्वजनिक स्थलहरुमा जाँदा मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने तथा पोरस बोडर अर्थात असुरक्षित सीमाबाट आउजाउ गर्ने जस्ता समस्या देखिएको छ ।
डा. मरासिनी भने यसमा सरकारको पनि कमजोरी देख्छन् । ‘त्रास फैलाउनु पो हुँदैन, खतरा अनुभव गराउनुपर्छ’ उनी भन्छन्, ‘नेपालीहरुलाई केही भएको छैन, समुदायमा संक्रमण छैन भनिरहने हो भने मानिसहरुले जोखिम महसुस नै गर्दैनन् ।’
जब कि तथ्यांकमा संक्रमितको संख्या केही घटेको देखिएपनि जोखिम झन बढेको छ ।
भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकामध्ये कति र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) कै भरमा घर गएका छन् । कतिपय मानिस अवैध रुपमा लुकिछिपी नेपाल भित्रिएका छन् । त्यही कारण कुनै ट्राभल हिस्ट्री नभएका, संक्रमितको सम्पर्कमा नगएकाहरुमा पनि संक्रमण देखिन थालेको छ । यस्ता संक्रमित ठूलो क्षेत्रमा व्यापक मात्रामा देखिएको छैन तर, खास ठाउँमा देखिएको छ ।
यही बेला छिमेकी देश भारतमा कोरोनाले महामारीको रुप लिएको छ र दैनिक झण्डै ५० हजार नयाँ संक्रमित भेटिन थालेको छ । यदि तराई मधेसका जिल्लाहरुसँग धेरै सीमा जोडिएको भारतको बिहार राज्यमा कोरोनाले महामारीको रुप लियो भने त्यसको प्रत्यक्ष असर प्रदेश २ का जिल्लाहरुमा पर्छ ।
अन्तराष्ट्रिय सीमा नाका बन्द गरिएको भए पनि नेपाल भारत सीमामा अवैध नाकाबाट हुने आउजाउ रोक्न गाह्रो रहेको भन्दै डा. मरासिनी भन्छन्, ‘रक्सौलमा हजारौं संक्रमित भए भने वीरगञ्जलाई जोगाउन गाह्रो हुन्छ, बयरगनियामा भयो भने गौर र सीतामढीमा भयो भने जनकपुर जलेेश्वरमा प्रभावित हुन्छ ।’
प्रादेशिक स्वास्थ्य निर्देशनालयका सहनिर्देशक डा. विजय पनि विहारमा संक्रमण बढ्दा प्रदेश २ मा जोखिम बढ्ने स्वीकार गर्छन् । ‘हामीले मुख्यमन्त्री, मन्त्री, सुरक्षा निकाय बसेर यसबारे छलफल गरेका छौं र यसमा हामी पनि गम्भीर छौं’ झाले भने, ‘जोखिम कम गर्न सीमा सिल नै गर्नुपर्ने हुन सक्छ ।’
जनस्वास्थ्य विज्ञ डा. मरासिनी भने स्थानीय र प्रदेशले गरिरहेको कामलाई निरन्तरता दिँदै क्रस बोर्डर ट्रान्समिसनको हकमा भने केन्द्र सरकारकै भूमिका हुनुपर्ने बताउँछन् । ‘स्थानीयलाई मात्र छाडेर भएन । क्रस बोर्डर ट्रान्समिसनलाई नियन्त्रण गर्न केन्द्र अगाडि सर्नुभयो । प्रत्येक दुई जिल्ला हेर्ने टिम बनाउने हो कि के गर्ने हो गरौं’ उनले भने, ‘यतातिर ध्यान दिइएन भने हेर्दाहेर्दै स्थिति नियन्त्रण बाहिर जान्छ ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4