
१५ साउन, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को उपचार गर्ने निजी अस्पतालले बिरामीसँग दैनिक १५ हजार रुपैयाँसम्म शुल्क लिन पाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जटिल अवस्थाका बिरामीको उपचार गर्दा निजी अस्पतालले १५ हजार रुपैयाँसम्म लिन पाउने निर्णय गरेको जानकारी दिए ।
कोरोना संक्रमितको उपचारका लागि सरकारले लेबल १, २ र ३ गरी तीन थरी अस्पताल तोकेको छ । यीबाहेक अन्य निजी अस्पतालमा बिरामीले कोरोना संक्रमणको उपचार गराउन चाहेमा उक्त अस्पतालको समेत सहमति लिई उपचार गर्न पाउने डा. गौतमले बताए ।
यसरी उपचार गर्दा संक्रमित सामान्य अवस्थाको भए प्रतिदिन ३ हजार ५ सय रुपैयाँ, मध्यम जटिल खालको भए ७ हजार र जटिल तथा क्रिटिकल अवस्थाको भए १५ हजार रुपैयाँ नबढाई लिन पाउने उनले जानकारी दिए ।
कोरोना परीक्षण गर्दा सेवा शुल्क लिन पाउने
सरकारले कोरोना परीक्षण गर्दा निजी अस्पतालले बिरामीबाट १० प्रतिशतसम्म सेवा शुल्क पनि लिन पाउने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार निजी अस्पतालले पीसीअर विधिबाट कोरोना परीक्षण गर्दा सरकारले तोकेको ५५ सय रुपैयाँमा थप १० प्रतिशतसम्म सेवा शुल्क लिन पाउनेछ ।
‘यो भनेका उनीहरुको भिटिएम र पीपीईको खर्च हो । १० प्रतिशत भनेको ५५०० मा बढीमा ५५० अर्थात ६ हजार ५० रुपैयाँ नबढ्ने गरी भनिएको हो,’ डा गौतमले भने ।
तर यसरी निजी अस्पतालले संकलन गरेको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति पाएको प्रयोगशालामा नै परीक्षण गराउनुपर्नेछ ।
प्रतिक्रिया 4