
२५ साउन, वीरगञ्ज । नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा कोरोनाका शंकास्पद विरामीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–५ कुम्हालटोलका ५५ वर्षीय वृद्धको स्वास्थ्यमा समस्या आएपछि परिवारका सदस्यहरुले शनिबार राति नेशनल मेडिकल कलेज लगे ।
रातभर आकस्मिक कक्षमा राखेर उपचार गरेका चिकित्सकले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै नारायणी कोरोना विशेष अस्पताल लैजान सुझाए । बिरामीका आफन्तले आइतबार नारायणी अस्पतालमा लगेका थिए । मधुमेहका विरामी उनको उपचारका क्रममा मृत्यु भयो ।
उपचारमा संलग्न चिकित्सकका अनुसार नारायणी ल्याउँदा बिरामी भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगिसकेका थिए । तर अस्पतालको आकस्मिक कक्षमा एउटा पनि भेन्टिलेटर छैन ।
तर नारायणी अस्पतालमा भेन्टिलेटरको अभावमा छटपटाउँदै विरामीको मृत्यु भएको यो पहिलो घटना भने होइन ।
सरकारले विशेषज्ञ सेवासहित केन्द्रिय अस्पताल घोषणा गरेको दुई वर्ष वित्नलाग्दा पनि स्रोत साधान र जनशक्ति थपिएको छैन । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी ४० जनामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सेवा बन्द छ । तर सबै जनरल सेवा सुचारु गर्नुपर्ने जनदबाव बढ्दो छ ।
नारायणीले विकल्प नभएका कतिपय सेवाहरु पनि छन्, जसमध्ये रेविज र सर्पदंश सेवा पनि हो । गर्मी र वर्षायाममा तराईमा सर्पदंशका विरामी बढ्ने गर्छ । दैनिक ८/१० जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको चिकित्सकहरु बताउँछन् ।
अस्पतालमा आउने बिरामीमध्ये २५ प्रतिशतलाई कृत्रिम स्वासप्रश्वास दिनुपर्ने हुन्छ । कतिपय विरामीलाई सिप्याट (हातले बेलुन थिचेर अक्सिजन दिने उपकरण) बाट कृत्रिम स्वास दिएर पनि बचाइएको अस्पतालका जनरल फिजिसियन डा. उदयनारायण सिंह बताउँछन् ।
‘बाहिरबाट हावा दिन मिल्ने एउटा यन्त्रको साहाराले एक जनालाई ७२ घन्टासम्म अक्सिजन दिएर उपचार गरेका छौं’ उनी भन्छन् ‘त्यसको विकल्प भनेको भेन्टिलेटर नै हो । तर भेन्टिलेटर नहुँदा विरामीलाई सिप्याटबाटै अक्सिजन दिने गरेका छौं ।’
नारायाणी अस्पतालकमा दुईवटा भेन्टिलेटर छ, त्यसमध्ये एउटा कोरोना महामारी बढेपछि आएको छ । चिकित्कसहरुका अनुसार भएको भेन्टिलेटर आफैं बिरामी पर्ने (बिग्रिने) गर्छ ।
अस्पतालमा चाहिने उपकरणहरुका बन्दोबस्त गरिदिन धेरे पटक आग्रह गर्दा पनि सुनुवाई नभएइको डा. सिंह बताउँछन् । ‘पहिला अस्पतालमा एउटा मात्रै भेन्टिलेटर थियो । कोरोना महामारीमा एउटा आएपछि दुईवटा भएको छ’ उनले भने, ‘प्रदेश २ सरकारले १० थान भेन्टिलेटर दिने घोषणा गरेको सुनेको थिएँ, तर आइपुगेको छैन ।’
सानो पाइलाको पहलमा ६ थान भेन्टिलेटर
पछिल्ला समय वीरगञ्जमा कोभिड–१९ संक्रमण बड्दो छ । लक्षण भएका संक्रमित भेटिएका छन् ।
साउन २५ गतेसम्म जिल्लामा संक्रमितको संख्या १ हजार १८ पुगेको छ, जसमध्ये ३३ जना आईसीयूमा छन् । उनीहरुसहित १४६ जना कोभिड विशेष अस्पतालको आइसोलेसनमा छन् । लक्षण भएका र दीर्घरोगी संक्रमितका लागि जुनसुकै समयमा भेन्टिलेटरजडित आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्ने चिकित्सकहरु बताउँछन् ।
त्यही कारण नारायणी अस्पताललाई ६ थान भेन्टिलेटर दिइएकोसानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले बताए ।
‘एकातिर भेल्टिलेटर छैन, अर्कातिर लक्षण भएका र दीर्घरोगी संक्रमित आउन थाले’ उनले भने, कुनै पनि बेला भेन्टिलेटरको अभाव हुनसक्ने देखेर ६ वटा भेन्टिलेटर (इनभेसिब र ननइनभेसिब) हस्तान्तरण गरेका छौं ।’ नेपाल भेन्टिलेटर सर्भिस (गैरनाफामुलक कम्पनी)सँग मिलेर तीन महिनाका लागि नारायणी अस्पतालमा भेन्टिलेटरको व्यवस्था गरिएको् उनले बताए ।
प्रतिक्रिया 4