Comments Add Comment

केन्द्रीय मन्त्रीलाई प्रदेशमन्त्रीको पत्र : सचिवको सरुवा छिटो नगरिदिनुस्

१२ भदौ, जनकपुरधाम । प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले छिटो छिटो सचिव सरुवा नगरिदिन आग्रह गर्दै संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रीलाई पत्र पठाएका छन् ।

पछिल्लो २ बर्षमा मन्त्रालयमा ६ जना सचिवको सरुवा र पदस्थापन गरिएको भन्दै मन्त्री साहले यसले कामकाज प्रभावित भएको पत्रमा उल्लेख गरेका छन् ।

मन्त्री साहले शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयत्र त्रिपाठीलाई पठाएको पत्रमा छोटो अवधिमा सचिव सरुवाको प्रवृत्तिलाई अन्त्यका लागि आवश्यक व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

पटकपटक प्रदेश सरकारसँग समन्वय नै नगरी सचिव सरुवा गर्दा मन्त्रालयको कामकाज निष्प्रभावी भइरहेको स्थितिप्रति गम्भीर हुन पनि आग्रह गरिएको छ ।

प्रदेश २ मा सरकार गठन भएयता कर्मचारी व्यवस्थापन तथा परिचालनमा संघ सरकारको उदासीनता, निरपेक्षता र हेलचेक्रयाइँका कारण प्रदेशमा मन्त्रालयका कार्य सञ्चालनमा कष्ट भोग्नुपरेको मन्त्री साहले उल्लेख गरेका छन् ।

मन्त्रालयका उच्च अधिकारीले प्रदेश सरकारका कार्यक्रम कार्यान्वयन प्रक्रिया अघि बढाउन नपाउँदै सरुवा गर्ने प्रवृत्तिले प्रदेशमा काम गर्ने सचिवहरूको मनोबल कमजोर हुनुका साथै उनीहरूका छोटो कार्यकालसमेत फितलो हुँदै गएको मन्त्री साहले बताए ।

कोरोना महामारीको अहिलेको जटिल, असहज र प्रतिकूल अवस्थामा मन्त्रालयले किसानको ऋण मिनाहा, धानबालीमा लागेका रोग नियन्त्रण, मलखाद व्यवस्थापन लगायतका जीवनसँग जोडिएका महत्वपूर्ण र अत्यावश्यक काम गर्नुपर्ने अवस्थामा तीन-तीन महिनामा सचिव परिवर्तन हुँदा प्रदेश सरकारले लक्ष्यबमोजिमका कार्य सम्पन्न गर्न गाह्रो भएको पत्रमा जनाइएको छ ।

हेर्नुहोस् पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment