
१४ भदौ, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टाभित्र २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमितको संख्या १० हजार २२ पुगेको छ ।
प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्दा सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा देखिएका छन् । २ हजार १ सय ७७ जना संक्रमित पर्सामा देखिएका छन् भने रौतहटमा १ हजार ६ सय ३१ जना देखिएका छन् ।
धनुषामा १ हजार ५ सय १८, सर्लाहीमा १ हजार ४ सय ४७, महोत्तरीमा १ हजार २ सय ३६, बारामा ८ सय ३०, सप्तरीमा ७ सय ८९ र सिरहामा ३ सय ९८ जना कोरोना संक्रमित देखिएका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आइतबारसम्म ४ हजार ८ सय ४९ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाभित्र पर्साका ६१, बाराका २३, सप्तरीका १३, सिरहाका १०, धनुषाका ५, महहोत्तरी र रौतहटका १/१ जना गरी १ सय १४ जना डिस्जार्च भएका छन् ।
प्रदेशमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ८६ जना पुगेको छ ।
प्रतिक्रिया 4